नारायणहिटी अगाडि ओली पक्षले जनसभा गर्ने

१८ माघ २०७७, आईतवार १५:३६

 

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी नेकपा ओेली पक्षको वाग्मती प्रदेश कमिटीले प्रतिनिधिसभा विघटन भएर निर्वाचन घोषणा गरिएको नयाँ परिस्थितिमा यही माघ २३ गते काठमाण्डौ गर्ने जनसभाको तयारी गरेको छ । काठमाण्डौको ट्राफिक जाम नहोस् भनेर सभाको आयोजनास्थल नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण ढोकातर्फको सडकलाई चयन गरेको यस कमिटीले सभामा काठमाण्डौका साथै प्रदेशका १३ वटै जिल्लाका कार्यकर्ता र समर्थकलाई सहभागी गराउने भएको छ ।

कमिटीका सचिव खेमप्रसाद लोहनीले नयाँ राजनीतिक घटनाक्रमबारे जनस्तरमा सन्देश दिन सभा आयोजना गरिएको र प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको बताउनुभयो । प्रदेश कमिटीको यही माघ ६ गतेको बैठकले कमिटी पुनःगठन गरी सचिव आनन्दप्रसाद पोखरेललाई अध्यक्ष र निवर्तमान सांसद लोहनीलाई सचिवमा चयन गरेको थियो । सभा सफलतापूर्वक सम्पन्न गर्न नेकपा काठमाण्डौ उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठका संयोजकत्वमा एक हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको छ ।

यसदिन माइतीघर मण्डल, त्रिपुरेश्वर, जमल, पुतलीसडक, घण्टाघरलगायत ठाउँबाट कलाकारसहितको साङ्गीतिक प्रस्तुति लिएर टोली जुलूसमा सहभागी हुने छ । जुलूसको नेतृत्व जिल्लाका महाधिवेशन आयोजक कमिटीका केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष तथा सचिवले गर्ने तथा पार्टीका २१ वटै जनवर्गीय सङ्गठनले आआफ्नो पहिचानसहित तथा काठमाण्डाै उपत्यकाका तीनवटै जिल्लाका सबै पालिकाले आआफ्नो तुलसहित सहभागी हुने कमिटीले जनाएको छ ।

सभाको तयारीका लागि यही माघ २१ गते काठमाण्डौमा १० हजार मोटरसाइकलको र्‍यालीसमेत गरिने जनाइएको । गएकाे पुस ५ गते प्रतिनिधिसभा विघटन भएर आउँदाे वैशाख १७ र २७ गतेका लागि निर्वाचन तोकिएको छ ।