दल दर्ता प्रक्रिया अगाडि बढाउन ओली पक्षलाई आग्रह

१६ माघ २०७७, शुक्रबार १४:४५

 

काठमाडौं । नेकपा ओली पक्षका नेताहरुले दल दर्ता प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेको छ । आयोगले दल दर्ता र निर्वाचनको तयारीका क्रममा हालसम्म भएका कामबारे छलफल गर्न नेकपाको दुवै पक्षलाई बोलाएको थियो । तर प्रचण्ड–माधव समूहका नेताहरुले अध्यक्षद्धय राजनीतिक कार्यक्रमका लागि बाहिर भएकाले माघ १८ गतेपछि मात्र छलफलमा आउन सक्ने लिखित जानकारी दिएको छ ।

 

ओली पक्षका नेता विष्णु पौडेल, सुवास नेम्वाङ लगायतका नेताहरुले भने आयोगका पदाधिकारीहरुसँग छलफल गरेका छन् । सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरेकाले निर्वाचन प्रक्रिया अगाडि बढाउनुपर्ने नेताहरुले बताए । ‘दल दर्ता अगाडि बढाउनुस्, हामी प्रामिकता दिएर सहयोग गर्छौं भनेका छौं,’ छलफलपछि नेता नेम्वाङले सञ्चारकर्मीहरुलाई भने, ‘आयागले पनि सर्वोच्चले अन्यथा आदेश नगरेमा तोकिएकै समयमा चुनाव गर्न प्रतिबद्ध छौं भनेको छ ।’

 

आयोगले दुवै पक्षलाई मान्यता नदिएको अवस्थामा दल दर्ता कसरी हुन्छ भन्ने प्रश्नमा नेम्वाङले भने, ‘आधिकारिताबारे आयोगले टुंगो लगाइसकेको छ । त्यसैअनुसार अगाडि बढेका छौं । केही साथीहरुलाई हामी आधिकारिक हौं भन्ने लागेको छ । अब दल दर्ताको प्रक्रियामा जानुपर्छ, निर्वाचनबाट सबै टुंगो हुन्छ ।’