आज बुटवलमा प्रचण्ड–माधव पक्षले प्रदर्शन गर्दै

१५ माघ २०७७, बिहीबार ११:१६

 

 

रुपन्देही । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल बिहीबार बुटवल आउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा आयोजना गर्न लागिएको लुम्बिनी प्रदेश स्तरीय विरोध कार्यक्रमलाई सम्बोधन गर्न उनीहरु बुटवल आउने भएका हुन् ।

प्रचण्ड–नेपालले सम्बोधन गर्नु पूर्व बुटवलका तीन ठाउँबाट र्याली निकाल्ने तयारी छ । ११ः४५ बजे बुटवलको गोलपार्क, जितगढी र राजमार्ग चौराहाबाट विरोध र्याली गरिने प्रदेश संघर्ष समितिका संयोजक ठाकुर गैरेले जानकारी दिए । बुटवलमा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट कार्याकर्ता ल्याउन सवारीसाधनको व्यवस्था गरिएको प्रदेश अध्यक्ष ओनसरी घर्तीले बताइन् ।