बुधवारदेखि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने

११ माघ २०७७, आईतवार १७:५०

काठमाण्डाै – नेपालमा आगामी १४ गते बुधवार बिहान १० बजे कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु गरिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले बुधवार बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल कार्यक्रममार्फत खोप अभियानको सुरुवात गर्ने जानकारी दिनुभयो ।

भर्चुअल कार्यक्रममा सातवटै प्रदेशका प्रदेश अस्पताल र काठमाण्डौ उपत्यकाका प्रमुख अस्पतालहरू जोडिने पनि मन्त्री त्रिपाठीले जानकारी दिनुभयो । बुधवार ६६ वटा अस्पतालका एक सय २० भन्दा धेरै खोप केन्द्रबाट खोप लगाउन सुरु गरिने र माघ १८ गतेभित्र ७७ वटै जिल्लाका अस्पतालहरूबाट खोप लगाउन सुरु गरिने उहाँले जानकारी दिनुभयो ।

पहिलो चरणको खोप कार्यक्रममा झण्डै चार लाख ३० हजार मानिसलाई खोप लगाउने तयारी रहेको र यो काम १० दिनभित्र सक्ने मन्त्री त्रिपाठीले बताउनुभयो । सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स तथा शववाहन चालक, सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा काम गर्ने कर्मचारीलगायतलाई खाेप दिने मन्त्रालयले जनाएको छ ।