चुनावी चटारो : १ हजार ६ सय गाडी खरिद गर्दै गृह मन्त्रालय

७ माघ २०७७, बुधबार १२:३३

आगामी चुनावका लागि १ हजार ६ सय गाडी खरिद गर्ने तयारी गृह मन्त्रालय मन्त्रालयले गरेको छ ।

गृह मन्त्रालयले निर्वाचनको तयारीको लागि अर्थ मन्त्रालयसँग गाडी खरिद गर्नको लागि रकम माग गरेको हो ।

सरकारले वैशाख १७ र २७ गते प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेपछि गृहले निर्वाचनको तयारीको लागि अत्यावश्यक सवारी साधन खरिदको गर्न रकम माग गरेको गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले बताए ।

“नेपाल प्रहरीले झण्डै ११ सय गाडी मागेको छ । सशस्त्र प्रहरी वलले चार/पाँच सयवटा गाडीहरू मागेको छ । राष्ट्रिय अनुसन्धानले पनि मागेको छ,” गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले कुराकानी गर्दै भने ।

निर्वाचनमा खटिँदा नेपाली सेनालाई आवश्यक पर्ने सवारी साधन, अन्य उपकरण र वस्तु भने सेनाले रक्षा मन्त्रालय हुँदै अर्थसँग माग्ने उनले जनाए ।

गृहले केही सञ्चार सेट पनि माग गरेको छ । गृह सचिव न्यौपानेले भने, “अहिले अलि गुणस्तरीय सञ्चार सेट भइदिए हुन्थ्यो भन्ने प्रहरीको कुरा छ । हामीले यससम्बन्धमा अर्थ मन्त्रालयसँग कुरा गरेका छौं ।”

म्यादी प्रहरीलाई आवश्यक पर्ने पारिश्रमिक, तालिम, लौरोहरू, सुरक्षाकर्मीलाई दिने अतिरिक्त भत्ताको कुरा पनि अर्थ मन्त्रालयसँग भइरहेको उनले जनाए । करीब १ लाखको हाराकारीमा म्यादी प्रहरी आउने निर्वाचनमा आवश्यक पर्ने उनले बताए । २०७४ को निर्वाचनमा ९८ हजार म्यादी प्रहरी भर्ना गरिएको थियो ।

“हामीले अर्थ मन्त्रालयलाई हाम्रो बजेटको रिक्वाएरमेन्ट पनि मोटामोटी भनिसकेका छौं । अहिलेको जनशक्तिले निर्वाचन दुई चरणमा गर्नलाई समस्या छैन,” गृह सचिव न्यौपानेले भने ।

निर्वाचनको सुरक्षा व्यवस्थाको प्रबन्ध गर्न गृहले सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख सहसचिव चक्रबहादुर बुढाको संयोजकत्वमा एउटा कमिटि गठन गरिसकेको छ । कमिटिले विभिन्न चरणमा बैठकहरू गर्दै आएको छ ।

चार वटै सुरक्षा निकायलाई निर्वाचनको तयारीमा लाग्न निर्देशन पनि दिइसकिएको छ । निर्वाचनको तयारी गर्न सबै सुरक्षा निकायले आ-आफ्नो संगठनमा ‘निर्वाचन सेल’ बनाइसकेका छन् ।

म्यादी प्रहरीबाहेक नै निर्वाचनको सुरक्षाको लागि १ लाख ३९ हजार ६०० सुरक्षाकर्मी आवश्यक पर्नेछ । यसका लागि ४५ देखि ५० हजार प्रहरी, २५ देखि २८ हजार सशस्त्र प्रहरी, ६० हजार नेपाली सेना र १६ सय राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी खटाउने तयारी भइरहेको छ ।