स्रोत नखुलेको ३७ लाखसहित एकजना पक्राउ

२७ पुष २०७७, सोमबार १७:२७

 

 

 

काठमाडौँ। चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट स्रोत नखुलेको नगद ३७ लाख रूपैयाँसहित एकजनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चितवन माडी नगरपालिका ६ बस्ने २६ वर्षीय राम कुमार गुरुङ रहेका छन्।

उनको साथबाट ७ लाख ११ हजार रूपैयाँ लेखिएको ग्लोबल आइएमई बैंकको १ थान चेक र हस्ताक्षर भएको तर नगद उल्लेख नभएको १ थान चेक समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख ९१३९ नम्बरको हाईस गाडीलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गरेको थियो। जाँच गर्ने क्रममा गाडीमा सवार उनको झोलामा लुकाई ल्याएको उक्त नगद र चेक फेला परेपछि उनलाई पक्राउ गरिएको हो।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।