
भद्रपुर । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका साइकलयात्रीको उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा झापा दमक नगरपालिका ४ जनचेतना टोल बस्ने ३६ वर्षीय कृष्ण ओझा रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।
प्रहरीका अनुसार दमक नगरपालिका ४ कृष्ण मन्दिर नजिकै आइतबार साँझ ट्रकले ठक्कर दिँदा साइकलमा सवार ओझा गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा विएण्डसी हस्पिटल बिर्तामोडमा सोमबार बिहान मृत्यु भएको छ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ क २८७७ नम्बरको ग्याँस बोकेको ट्रकले उत्तरबाट दक्षिणतर्फ बाटो काट्दै गरेको साइकल यात्री ओझालाई ठक्कर दिँदा उनी सडकमै लडेका थिए। त्यसपछि सोही दिशाबाट आउँदै गरेको ना ४ ख १४४८ नम्बरको ट्रकले पुनः उनलाई ठक्कर दिएको थियो। प्रहरीले ठक्कर दिने दुवै ट्रकलाई नियन्त्रणमा लिएको छ।
उनको पेट र दुवै खुट्टामा चोट लागेको उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाइएको प्रहरीले जनाएको छ। टिपर र चालक मोरङ सुन्दर हरैँचा नगरपालिका १० बस्ने ३३ वर्षीय राजेश ऋषियासन इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ।
