महिला घरेलु हिंसा तथा यौनजन्य अपराध

२६ पुष २०७७, आईतवार १४:००

 

 

डा डीआर उपाध्याय,पछिल्लो समय समाजमा कसैप्रति कसैको विश्वास छैन । महिला घरेलु हिंसा तथा यौनजन्य अपराधका घटनाहरू समाजमा दिन प्रतिदिन घटेका छन् । यो हाम्रो समाजको लागि चुनौतीको विषय हो । यस्ता घटना घट्नुको मूल कारण समाजमा अशिक्षा, गरिबी र चेतनाको अभाव हो । समाजमा बलात्कारी र अपराधिहरू दिनप्रतिदिन बढ्दैछन् । बोक्सी आरोप, यौन शोषण, छाउप्रथा, घरेलु हिंसालगायतका अपराधबाट महिला तथा बालबालिका पीडित हुने क्रम घटेको छैन, प्रहरीको तथ्याङ्कले बढेकै देखाउँछ ।

यस्ता घटना हुनबाट जोगाउन समाजमा जनचेतना फैलाउने कार्यलाई प्रभावकारी बनाउन जरुरी छ । अहिलेको युग सञ्चार र प्रविधिको युग हो । यसको सही सदुपयोग गर्न सकेको खण्डमा धेरै फाइदा छन् तर यसको गलत दुरुपयोगको कारणले गर्दा समाजमा अपराध निम्ताएको छ । सामाजिक सञ्जाल र फेसबुकको गलत प्रयोगबाट समाजमा हत्या, हिंसा र बलात्कारका घटनाले प्रसय पाएको छ । आपराधिक मनोवृत्ति भएकाहरूका लागि पछिल्लो समय इन्टरनेट सजिलो माध्यम बनेको पनि देखिन्छ ।

आज केही मानिस चेतनाको अभावले पशुजस्तो व्यवाहार देखाउँछन् । हाम्रो समाजमा घरभित्रै बाबुले छोरीलाई, छोराले आमालाई र दाजुले बहिनीलाई ससूराले बुहारीलाई, देवरले भाउजूलाई, जेठाजुले बुहारीलाई बलात्कार गर्ने गरेका घटनाका समाचारहरू दिनहुँ जसो आइरहेका हुन्छन् । हाम्रो पुरुष प्रधान समाजमा महिलालाई छोरीमात्र जन्माएकै कारण पति, सासू, ससुरा र नन्द मिलेर चरम मानसिक र शारीरिक यातना दिई हत्या गरेका घटनाहरु पनि सुन्नमा आउँछन् ।

यतिमात्रै नभई हाम्रो समाजमा दाइजो प्रथाको नाममा महिलामाथि चरम यातना दिने र जिउँदै जलाउने कार्य अझैपनि रोकिएको छैन । विशेषगरी यस्ता घटनाहरू तराइ मधेसका समुदायमा घट्ने गर्छन् । आजको यो २१ औं शताब्दीमा पनि रुढिवादी परम्परा र अन्धविश्वाससँग जोडेर बोक्सीको नाउँमा कुटपिट गरी हत्या गर्ने तथा मलमूत्र खुवाउने कार्य पनि रोकिएको छैन । दिनहुँ जसो यस्ता घटना घटिरहँदा पनि महिला अधिकारकर्मी र सरोकारवाला सरकारी निकायहरू तारे होटलमा गरिने गोष्ठीमा मात्र सिमित भए कार्यन्वयनमा भने शुन्यता भयो । जसले गर्दा अपराधिहरूको मनोबल बढेको देखिन्छ ।

सरकारले अपराध सम्बन्धित यस्ता पाशविक क्रियाकलापलाई रोक्न नखोज्दा अपराधिलाई खुलेआम प्रोत्साहन मिलेको छ । यस्ता अपराधिहरूलाई कारवाही गर्न कडाभन्दा कडा कानुनको आवश्यकता छ । हाम्रो देशमा कडा कानुनको अभावले यस्ता घटनाहरू पटक पटक दोहोरिने गर्छन् । पैसा र पहुँचको भरमा केही अपराधिहरूले छुटकारा पाएका छन् । जसले गर्दा नागरिकहरुले देशमा न्याय मरेको अनुभुति गर्ने गरेका छन् ।