देशको राजनीति तरंगित बन्दै

२४ पुष २०७७, शुक्रबार ०८:१३

डा डिआर उपाध्याय,

पार्टीभित्रको आन्तरिक विवाद बढ्दै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गर्नु भयो । त्यस पछि नेपाली राजनीति तरंगित बन्दै गएको छ । सत्तारुढ दल नेकपा दुई धारमा विभाजित भएको छ । प्रधानमन्त्रीको निर्णय संविधानविपरीत र अलोकतान्त्रिक भएको निष्कर्ष नेताहरुले निकालेका छन । प्रधानमन्त्रीको सिफारिस र राष्ट्रपतिको स्वीकृति नेपालको संविधानविपरीत छ। संविधानमा प्रतिनिधिसभाबाट सरकार बन्न सक्ने अवस्था रहेसम्म प्रतिनिधिसभा भंग नहुने प्रस्ट प्रावधान छ। कोरोना महामारी त घटिसकेको छैन। यस्तो अवस्थामा दिनदिनै सडकमा जुलुस भईरहेका छन । कोरोनाको जोखिम बढने खतरा छ । नेकपा प्रचण्ड नेपाल समूहले आन्दोलनका कार्यक्रम गरिरहेको छ । जसपा सडकमा गइसकेको छ । कांग्रेस पनि आन्दोलनमा नै छ । परिस्थिती जटिल बन्दै गएको अवस्था छ ।कांग्रेसका भ्रातृ संस्थाहरूले पनि निरन्तर असंवैधानिक कदमको विरोध गरिरहेका छन्। कांग्रसकै नेतृत्वमा संविधान बनेको हो । संविधानको रक्षा गर्ने दायित्व पनि कांग्रेसकै काँधमा छ। संविधानमा बहुलवादमा आधारित बहुदलीय शासन व्यवस्था हो। संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न कांग्रेस अग्रसर हुनुपर्छ।
यति बेला मध्यावधि निर्वाचन र संसद पुनस्थापनाको बहस सबैतिर चलिरहेको छ । प्रधानमन्त्रीले किन संसद् विघटन गर्नु भयो ? यो नै अचम्मको कुरा छ । चुनाव गर्ने मनस्थितिमा सरकार छैन। सरकार अलोकप्रीय अवस्थामा छ। पार्टी विभाजन भएका बेलामा ओलीले चुनाव गर्ने सम्भावना कम छ । कोरोनाबाट लाखौं नागरिक आक्रान्त छन । श्रमिकहरू बेरोजगार छन । यस्तो बेला सरकारले चुनाव गराउँछ भनेर कसले विश्वास गर्छ ? प्रधानमन्त्री ओलीले संकटबाट उम्किनका लागि मात्र मध्यावधि चुनावको घोषणा गर्नुभएको हो। उहाँले अहिलेको अवस्थामा चुनाव गराउन सक्नुहोला जस्तो देखिदैन । किनभने चुनाव हुनको लागि राजनीतिक वातावरण निर्माण हुनुपर्छ । विभिन्न दलहरु सडक आन्दोलनमा छन् । उनीहरुले चुनाव स्वीकारेका छैनन् । दलहरु विच सहमती कायम नभए सम्म चुनाव हुन कठिन छ । दलहरु चुनाव भन्दा संसद पुनस्थापनाको मुद्धालाई प्रमुखताका साथ उठाउँदै सडक आन्दोलनमा आएका छन् । अरु कुरा जे भएपनि लोकतान्त्रिक मूल्य र मान्यतामा बनेको यो संविधानको रक्षा गर्ने दायित्व हामी सबैको हो। जसरी पञ्चायतले प्रजातन्त्रमाथि प्रहार ग¥यो। अन्ततः पञ्चायत असफल भयो। राजा ज्ञानेन्द्रले प्रजातान्त्रिक मूल्य, मान्यता र तत्कालीन संविधानको बर्खिलापमा गएका कारण आफैं सिद्धिए । त्यसकारण लामो समयसम्मको त्याग, तपस्या र वलिदानबाट प्राप्त उपलब्धी माथि कसैले प्रहार गर्न खोजे आफै सिद्धिने खेल हो ।