सर्वोत्तम सिमेन्ट फ्याक्ट्रीमा आगलागी, चार करोडका क्षति

१६ पुष २०७७, बिहीबार १६:५९

 

 

काठमाडौँ। देशका विभिन्न स्थानमा लागेका आगलागीका घटनामा एकै दिन चार करोड रूपैयाँभन्दा बढीको क्षति भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुधबार देशका १० स्थानमा भएको आगलागीले उक्त क्षति गरेको हो।

नवलपरासी पश्चिमको सुनवल नगरपालिका(११ स्थित सर्वोत्तम सिमेन्ट उद्योगको सिमेन्ट मिल हपरमा अचानक आगलागी हुँदा चार करोड रूपैयाँ बराबरको क्षति भएको प्राधिकरणद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका १० पाथेकस्थित एक पोल्ट्री फर्ममा आगलागी भई २८० ओटा लेयर्स कुखुरा, १० क्यारेड अण्डा, सोलार, कुखुराको दाना लगायत वस्तु नस्ट हुँदा तीन लाख रूपैयाँ बराबरको क्षति भएको छ।

महोत्तरीको मनरासिस्वा नगरपालिका ८ ससारामस्थित एक घरमा आगलागी हुँदा एक लाख रूपैयाँ बराबरको क्षति भएको छ।

मोरङको बिराटनगर महानगरपालिका ४ नहर चोकस्थित एक घरमा आगलागी हुँदा दुई लाख रूपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ।