
२०१७ सालमा अर्घाखाँचीको फलेपतमा जन्मिएका टोपबहादुर रायमाझी २०३४ सालदेखि कम्युनिस्ट पार्टीको सदस्य रहँदै आएका थिए । उनले यो पटक ऊर्जा मन्त्रीको जिम्मेवारी पाएका छन्।
२०४७ सालमा केही वाम घटकहरु एकीकृत भएर एकता केन्द्र बन्द रायमाझी बाबुरामका साथ एकता केन्द्रमा समाहित भएका थिए । त्यसपछि बाबुरामसँगै माओवादीको सशस्त्र संघर्षमा होमिएका थिए ।
रायमाझी २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा अर्घाखाँची क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । संविधान निर्माणपछि बनेको केपी शर्मा ओली नेतृत्वको सरकारमा तत्कालीन माओवादीका तर्फबाट रायमाझीले नै नेतृत्व गरेका थिए ।
तत्कालीन माओवादीमा बाबुराम भट्टराईको मुख्य सहयोगी रायमाझी नै थिए । संविधान निर्माणपछि बाबुरामले नयाँ राजनीतिक शक्ति निर्माण गर्ने भन्दै माओवादीबाट बाहिरिए पनि रायमाझी माओवादीमै रहे । त्यसपछि उनी केपी ओली सरकारमा उपप्रधान तथा ऊर्जामन्त्री बनेका थिए ।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा अर्घाखाँचीबाट रायमाझी वाम गठबन्धनका साझा उम्मेदवार बनी विजयी भएका थिए। तर नेकपा विभाजनका क्रममा उनले प्रचण्ड समूहलाई छाड्दै ओली समूहमा आएका हुन्। आफ्नो समूहमा आएलगत्तै ओलीले उनलाई पनि मन्त्री बनाइदिएका छन्।
