‘संविधानको हत्या भयो’

६ पुष २०७७, सोमबार २०:३१
           

काठमान्डौँ , आज काठमाडौँमा संवाद क्लव नेपालले आयोजना गरेको अन्तर संवाद कार्यक्रममा बोल्दै विभिन्न राजनीतिक दलका नेता र कानुन विज्ञहरुले नयाँ संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरि मध्यावधि निर्वाचन घोषणा गरेकोमा घोर आपत्ती जनाउदै असंवैधानिक कदम भएको विचार व्यक्त गरेका छन् । नेकपाका नेता ठाकुर गैरेले ओलीको यो कदम असंवैधानिक र कानुन विपरित भएको बताउनु भयो । जनतालाई स्थिर सरकार दिने काममा धोका भएको उहाँको भनाई छ । उहाँले प्रधानमन्त्री ओलीले उठाएको गलत कदममा जनतालाई न्यायालयले न्याय दिने विश्वास समेत व्यक्त गर्नु भयो ।

सोही कार्यक्रममा बोल्दै अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्रीको यो कदम असंवैधानिक भएको विचार व्यक्त गर्नु भयो । संसद विघटन गरेर मध्यावधि निर्वाचनमा जानु मुलुकको लागि दुर्भाग्य भएको भन्दै बैसाखमा कुनैपनि हालतमा चुनाव हुन नसक्ने ठोकुवा गर्नु भयो । संसद् विघटन गर्नु भनेको संविधानको हत्या गरेको त्रिपाठीको भनाई छ । वरिष्ठ अधिवक्ता त्रिपाठीले भन्नु भयोे, ‘बहुमतको सरकारले संसद विघटन गर्नै सक्दैन। त्यो गर्नु भनेको तानाशाही पवृति हो।’ उहाँले भन्नु भयोे, ‘अहिलेको संविधानमा संसद विघटनको परिकल्पनै गरिएको छैन। मध्यावधि निर्वाचन त्यतिबेला मात्रै हुन्छ जतिखेर यो संसदले वैकल्पिक सरकार बनाउन नसक्ने अवस्था आउँछ ।’ यो कदम संघीय संविधानको हत्या भएकाले राष्ट्रपति विद्यादेवी भण्डारीले यसमा साथ दिन नहुने बताउनु भयो । कार्यक्रममा जसपाका सांसद प्रमोद साहले संविधानमै नभएको अधिकार प्रयोग गरेर ओलीले देशलाई द्धन्द्धमा धकेलेको आरोप लगाउनु भयो । चुनावका नाममा फेरि राज्यको अरबौँ पैसा खर्च हुने भन्दै आक्रोश व्यक्त गर्नु भयो । कांग्रेसका युवा नेता नैनसिंह महरले ओलीको असंवैधानिक कदमको सबैले विरोध गर्नुपर्ने बताउनु भयो । उहाँले पार्टी एकता सत्ताको लागि मात्रै भएको बताउनु भयो ।