आठ महिनादेखि बन्द रहेको सदर चिडियाखाना भोलिबाट खुल्दै

२४ मंसिर २०७७, बुधबार २२:१३

काठमाडौं। कोभिड १९ को सङ्क्रमण नेपालमा पनि देखिएसँगै गत चैत ७ गतेदेखि बन्द भएको जावलाखेलस्थित सदर चिडियाखाना बिहिबारदेखि खुल्ने भएको छ।

कोभिड१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्णयपछि स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पालना गरी बिहीबारदेखि चिडियाखाना खुल्न लागेको व्यवस्थापन पक्षले जनाएको छ।

चिडियाखानामा प्रवेशका लागि स्वास्थ्यका मापदण्ड तयार गरिएको बताउँदै चिडियाखाना व्यवस्थापन प्रमुख डा चिरञ्जीवीप्रसाद पोखरेलले प्रवेश टिकटको डिजिटलाइजेसन गरिएको र अनलाइनमार्फत् पनि लिन सकिने जानकारी दिनु भएको छ ।

चिडियाखानामा प्रवेश गर्दा हरेक व्यक्तिले मास्क अनिवार्य लगाउनुपर्ने र प्रवेश क्षेत्रमा स्यानिटाइजरको व्यवस्था गरिएको छ।

भीडभाड व्यवस्थापन गर्न एकपटकमा बढीमा ७०० देखि ८०० व्यक्तिलाई मात्र प्रवेश दिने र त्यसपछि अवलोकनकर्ताको सङ्ख्या धेरै भएमा जति व्यक्ति अवलोकनपछि बाहिरिन्छन् त्यति नै सङ्ख्यामा मात्र नयाँ प्रवेश गर्न दिने व्यवस्था गरिएको उहाँले बताउनु भयो ।

यसैगरी चिडियाखानाभित्र बसेर खान र वन्यजन्तुलाई खुवाउन, छुन नपाउने, एक व्यक्ति बढीमा डेढ घण्टामात्र बस्न पाउने, बालबालिकालाई खेलाउन नपाउनेजस्ता मापदण्ड तयार गरिएको छ।

यसअघिझैँ हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म अवलोकनका लागि सञ्चालन हुने गरी नै मापदण्ड तयार गरिएको छ। हाल चिडियाखानामा ११० प्रजातिका एक हजार ६८ वन्यजन्तु छन्।