सर्वदलीय बैठकः राजावादीविरुद्ध एकजुट हुन सबै दलहरुलाई प्रधानमन्त्रीको आह्वान

२३ मंसिर २०७७, मंगलवार १५:५६

काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीविरुद्ध एकजुट भएर लाग्न सबै दलहरुलाई आह्वान गर्नु भएको छ ।

आज (मंगलबार) बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले उपस्थित दलका प्रतिनिधिलाई सो आह्वान गरेका हुन् । बैठकमा उहाँले भन्र्नु भएको छ– ‘संविधान विरोधी र हिंसात्मक गतिविधिहरूको विरोधमा एकजुट होऔँ ।’

पछिल्लो समय देशभर पूर्व राजा ज्ञानेन्द्रको समर्थनमा प्रदर्शन हुँदै आएको थियो । संघीयता तथा गणतन्त्र पक्षधर एकजुट हुनुपर्छ भन्ने कुराहरू आएका थिए । राजसंस्था स्थापना हुनुपर्छ भन्दै प्रदर्शन भइरहँदा प्रधानमन्त्रीले सर्वदलीय बैठक आह्वान गर्नु भएको हो । बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, नेपाल कम्यनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्रीहरु लगायतका नेताहरु सहभागी थिए ।

बैठकमा सभापति देउवाले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सरकारको आलोचना गर्नु भएको थियो । उपसभापति विमलेन्द्र निधिले सरकारले जनता, संघीयता र संविधान कार्यान्वयनका पक्षमा काम गरेको नपाइएको दाबी गर्नु भएको थियो ।
अन्य दलका नेताहरूले पनि आ–आफ्नो धारणा राखेका थिए ।