
काठमाडौं , नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय बैठक शुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आजका लागि तोकिएको बैठक शुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनु भयो ।
आजको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी हुनु भएको छ । पछिल्लो समय कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीच पत्र दोहोरी शुरु भएको छ। सोही पत्र दोहोरीपछि दुई अध्यक्षबीच मनमुटाव सतहमा आएको थियो।
मंसिर १७ गतेको सचिवालय बैठकमा दुई अध्यबीच सहमति गरेर मात्रै बैठकमा बस्नुपर्ने भन्दै ओलीले बैठकमा सहभागि नै नहुने अडान राखनु भएको थियो । उहाँको अडानपछि अर्का अध्यक्ष प्रचण्डले केही बेर बैठक सञ्चालन गरेर ओलीलाई ३ दिनको समय दिनुपर्ने भन्दै २० गते सम्मकालागि बैठक स्थगित भएको जानकारी गराउनु भएको थियो । १७ मंसिरको सचिवालय बैठकले नेताहरु बीचमा पार्टीको संकट समाधानका लागि नेताहरुबीचको अनौपचारिक संवाद बढाउनुपर्ने निर्णय गरेको थियो।
यही विषयको पार लगाउन सचिवालय बैठकमा छलफल हुने बताइएको छ। प्रचण्डले पेश गरेको प्रस्तावलाई फिर्ता लिन ओलीले आग्रह गर्दै आउनु भएको छ ।
