सुनको मूल्य एकै दिन १८०० सयले घट्यो

९ मंसिर २०७७, मंगलवार ११:३५

काठमाडौं, सुनको मूल्य एकै दिन प्रतितोला एक हजार ८०० रूपैयाँले घटेको छ।

हिजो आइतबार स्थिर रहेको छापावाल सुनको भाउ आज घटेर प्रतितोला ९२ हजार ५०० रूपैयाँमा आइपुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएअनुसार आज एकै दिन भारी मूल्यको गिरावट आएको हो।

हिजो आइतबार छापावाल सुनको भाउ ९४ हजार ३०० रूपैयाँ प्रतितोला कायम थियो।

यसैगरी आज तेजाबी सुनको मूल्य तोलाको ९२ हजार रूपैयाँ कायम भएको छ। हिजो तेजाबी सुनको मूल्य ९३ हजार ८०० रूपैयाँ थियो।

महासंघले चाँदीको भाउ आजका लागि प्रतितोला एक हजार १८० रुपैयाँ तोकेको छ। हिजो चाँदीको मूल्य एक हजार २१० कायम थियो।