कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु

२१ कार्तिक २०७७, शुक्रबार १०:१७

कैलाली, कैलालीमा कोरोना संक्रमणबाट एक जनप्रतिनिधिको मृत्यु भएको छ। जिल्लाको गौरिगंगा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष नरेन्द्रबहादुर शाहको धनगढीस्थित सेती प्रादेशिक अस्पताल अन्तर्गतको अस्थायी कोरोना अस्पतालमा शुक्रवार बिहान मृत्यु भएको हो।

उनी १० दिनदेखि उक्त अस्पतालमा भेन्टिलेटरमा उपचाररत थिए। निमोनिया देखिएपछि कात्तिक १२ गते अस्पताल भर्ना भएका उनमा कोरोना भने १७ गते पुष्टि भएको हो।

कोरोना पुष्टि हुनुअघि जनरल आइसियुमा भर्ना भएका उनलाई १७ गतेपछि कोरोना अस्पताल सारिएको र आज बिहान उपचारकै क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।