
काठमाडौं, हुण्डी कारोबारको रकमसहित प्रहरीले काठमाडौंबाट तीन जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले एक करोड रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको हो ।
सीआईबीले काठमाडौंको ओमबहालबाट एक करोड रकमसहित झापाका विकास र कमल मित्तलसँगै पर्वतका गणेश पौडेललाई नियन्त्रणमा लिएको सीआईबी प्रमुख सहकुल थापाले जानकारी दिनु भयो ।
प्रहरीका अनुसार मित्तलद्वय दाजुभाइ हुन् । पौडेल मित्तलका सहयोगी भएको खुलेको छ ।
ब्यूरोको टोलीले मित्तलको मोबाइल पसलबाट ९९ लाख ८४ हजार नेपाली र ८ सय अमेरिकी डलर बरामद गरेको हो । रकम विदेश पठाउने तयारी भएको आशंका प्रहरीले गरेको छ । १० लाख माथिको कारोबार बैंकबाट मात्र गर्नुपर्ने कानुनी प्रावधान छ । उनीहरुमाथि ब्यूरोले अनुसन्धान अगाडि बढाएको छ ।
