
डा डिआर उपाध्याय,
राष्ट्रियतालाई बलियो बनाउन राजनीतिक दलहरूबीच सहमति, सहकार्य र एकताको आबश्यकता छ । यो कुरामा जोड दिऔं । राष्ट्रिय एकता नै आजको आबश्यकता हो । अव सवै मिलेर राष्ट्र र राष्ट्रियतालाई बलियो बनाउनुपर्छ । जे भए पनि अव राष्ट्रियताको मुद्दामा खरोसँग उभिनु पर्ने आबश्यकता देखियो । सरकारले सबै जनतालाई खुसी र सुखि बनाउने कार्ययोजना अघि सार्नु पर्छ । र यसको कार्यान्वयनमा खरो उत्रनु पर्छ । अव ढिला नगरि राष्ट्र बनाउने सोच लिएर दलहरु अघि बढनु पर्छ । दुःख लाग्दो कुरा यो छ की धेरैजसो उच्च तहमा रहेका राजनीतिक व्यक्ति र उच्च तहका कर्मचारीहरू दलालको चङ्गुलमा फसेका छन । जसले गर्दा मुलुकको बिकास हुन सकेको छैन । यिनै वर्गले देश र जनताको दोहन गरेर लुट मच्चाइरहेका छन् । अनि देश कसरी बिकास हुन्छ ? गरिबी, पछौटेपन, विभेद हटाई समुन्नत एवम् समृद्ध राष्ट्रनिर्माणको अभियानमा जुटने बेला हो यो । तर कुनै राजनीतिक दलहरुले ईच्छाशक्ति नै देखाउँदैनन । समस्या यो हो । अव मुलुकमा आर्थिक क्रान्तिको अभियान चलाउन ढिला गर्नु हुदैन । यो बेला भनेको सरकारले देश र जनताको पक्षमा काम गरेर जनताको मन जित्ने बेला हो । देश बनाउने हो भने सरकारले सुशासन कायम गर्ने कुरामा जोड दिनु पर्छ । आर्थिक अनुशासन, पारदर्शिता, भ्रष्टाचाररहित समाजको निर्माण नै आजको आबश्यकता हो । दीर्घकालीन, मध्यकालीन र अल्पकालीन दृष्टिकोणहरू अगाडि सारेर विकास निर्माणलाई गति दिनु पर्छ । एक्लो प्रयासले केहि हुदैन , मुलुक बनाउने अभियानमा सबै एकढिक्का भएर लाग्नु पर्छ ।
मुलुकलाई बाहिरी हस्तक्षेपबाट सधै सुरक्षित राख्नु पर्छ । त्यसका लागी छिमेकी राष्ट्रसँग घनिष्ठ सम्बन्ध कायम गर्नु पर्छ । आन्तरिक मामिलामा कुनै पनि राष्ट्रबाट हुने हस्तक्षेपको विरुद्ध सबै शक्ति एकढिक्का भएर प्रतिकार गर्नुपर्छ । राजनीतिक सहमतिका नाममा जहाँ पनि भागबन्डा मिलाएर खाने प्रवृत्तिको अन्त्य गरिनुपर्छ ।राजनीतिक दलसँग राष्ट्रनिर्माण गर्ने ठोस कार्यक्रम र दृष्टिकोणहरू हुनुपर्छ । धर्म र जातका नाममा सामाजिक सद्भाव खल्बलाउने स्वदेशी तथा विदेशी चलखेलको अन्त्य गर्नु पर्छ । राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई कमजोर पार्ने भूमिका कुनै पनि राजनीतिक दलहरूले गर्नुहुँदैन । आमजनतामा राष्ट्रियताप्रतिको गौरवबोध र राष्ट्रिय एकताको भावलाई बलियो बनाउने कार्यमा सबै पक्ष मिलेर लाग्नु पर्छ ।
राष्ट्र र राष्ट्रियताको पक्षमा सबै राजनीतिक पार्टीहरूले निःस्वार्थ रूपमा एकता र सहकार्य गर्ने परिपाटीको विकास गर्नुपर्छ ।राष्ट्रियता कमजोर बनाउने दलाल पुँजीपतिहरूप्रति सचेत हुनु पर्छ । राष्ट्रिय एकता बलियो बनाउन जातीय, साँस्कृतिक, भाषिक र धार्मिक समानताको जग दह्रो बनाउनु पर्छ ।
सबै भाषाभाषी, जातजाति तथा धर्मावलम्बीहरूबीच एकले अर्कालाई सम्मान गर्ने बानी बसाल्नु पर्छ । जातीय सङ्कीर्णता, भौगोलिक विखण्डन र धार्मिक अतिवादजस्ता प्रवृत्तिलाई राज्यले पूर्णरूपमा निरुत्साही र नियन्त्रण गर्नुपर्छ । सबै भाषा, धर्म, संस्कार र संस्कृति राज्यको गौरव तथा राष्ट्रियताका प्रतीक हुन्, ।
