डा डीआर उपाध्याय,

दशैका बेला खाद्यान्नलगायतका अत्यावश्यकीय वस्तुको अचाक्ली मूल्य बढेको छ । कालोबजारीको बिगबिगिले उपभोक्ता मारमा परेका छन । सरोकारवाला निकायहरु झारा टार्नै काम बाहेक अरु केहि गर्न सकेका छैनन् । नियमित बजार अनुगमन हुनु पर्दथ्यो, अहिले छैन । सुरु सुरुमा अनुगमन गरे जस्तो गर्ने अनि बीचमै त्यसलाई निरन्तरता नदिएर छोडने यो परम्पराले नेपाली उपभोक्ताहरु धेरै मारमा परेका छन । सरकारले पर्वलक्षित अनुगमन गरेर मात्र हुदैन । बजार अनुगमन निरन्तर हुनु पर्छ । सरकारी टोलीहरू बजार अनुगमनमा ननिस्केका होइनन् । तैपनि महँगी अकासिन रोकिएन । अनियन्त्रित मूल्य वृद्धिले सर्वसाधरणको ढाँड सेकिएको छ । सरकारी निकायहरूले अनुगमन देखावटी मात्रै गरेका छन । जसले गर्दा प्रभावकारी अनुगमन हुन सकेको छैन । बजार मूल्य बढ्नुको कारण के हो यसको खोजि गर्नुपर्छ । स्वाभाविक मूल्य प्रणालीभन्दा बाहिर गएर बजार मूल्य बढाउने तत्वहरु बजारमा सक्रिय छन । तिनीहरुको खोजी गर्नु पर्छ । र दोषी ठहर भए कडा कारवाही हुनु पर्छ । उपभोक्ता ठगिने क्रम रोकीएको छैन ।
कोभिड–१९ को कारण उत्पन्न परिस्थितिका कारण आम उपभोक्ता बैंकमा पैसा छैन । लामो लकडाउनका कारण धेरै मानिस कामबिहीन हुन पुगेका छन । बजार भाउ छोइसक्नु छैन । गत वर्षको दसैंको तुलनामा अधिकांश खाद्यान्न तथा गेडागुडीको मूल्य किलोकै दस रुपैयाँभन्दा बढी बढेको छ । हरियो केराउको किलोमै ४० रुपैयाँ र खानेतेल तथा घिउको भाउ किलोमै ५० रुपैयाँसम्म बढेको छ । सबै क्षेत्र महामारीको मारमा परेको बेला हो यो । यसको नियन्त्रण गर्न सरकार लगायतका सरोकारवाला गम्भीर हुनु पर्ने आबश्यकता देखिएको छ ।मिलेमतोमा उपभोक्तामाथि ठगी गर्ने काम बन्द हुनु पर्छ । यस्तो संकटको घडीमा बजारको मूल्य मनपरी ढंगले तल–माथि हुन दिनु हुदैन । व्यापारीहरूले जायज मुनाफासहित लाग्दो मूल्य लिन पाउनुपर्छ, सामग्रीमा मनपरी मूल्य बढाउन पाईदैन ।
बजारमा आफूखुसी मूल्य बढ्न नदिन उपभोक्ता आफैं पनि जागरुक हुनुपर्छ । सरकारले पनि बजार अनुगमन प्रणालीलाई चाडबाडकेन्द्रित मात्र बनाएर हुदैन, बाह्रै मास बजार अनुगमन गर्नुपर्छ । र, यस्तो अनुगमन सबै तहमा समान ढंगले गर्नुपर्छ, उद्योगी र ठूला व्यापारीलाई छुट र सानालाई मात्रै कानुन लगाउनु हुँदैन । साना पसलहरूमा मात्र अनुगमन गरेर मूल्य नियन्त्रणमा आउन सक्दैन । स्थानीय सरकारहरू यसमा अलि बढि सचेत रहनुपर्छ ।
