
काठमाडौँ, नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले जनप्रतिनिधिलाई नै लाठी चार्ज र दूर्व्यवहार गरिनुले कानूनी राज्यमाथिकै प्रश्न उठेको बताउनु भएको छ ।
सर्लाहीको रामनगर गाउँपालिका–७ सिसौटका महेन्द्र रामको कुटपिटपछि उपचारका क्रममा मृत्यु भएको घटनाको जाहेरी दर्ता गर्न जाने क्रममा जनप्रतिनिधिलाई पनि लाठी चार्ज गरिएकोमा डा कोइरालाले आपत्ति जनाउनु भएको छ ।
कोइरालाले आज प्रेस वक्तव्य जारी गर्दै घटनाको जाहेरी लिन पनि नमान्ने र त्यसलाई दर्ता गर्न जाँदा कांग्रेस सांसद डा अमरेश कुमार सिंह, सर्लाही कांग्रेस सभापति नगेन्द्र कुमार तथा प्रदेश सांसदलाई समेत प्रहरीले लाठी चार्ज गर्नुले कानूनी राज्यमाथिकै प्रश्न उब्जिएको बताउनु भयो ।
आठ दिनसम्म अस्पतालमा महेन्द्र रामको शव राखिनु र मृतकका परिवारले दिएको जाहेरी दर्ता नगर्ने प्रहरीले प्रशासनले शान्तिपूर्ण र्यालीमा पनि दूर्व्यवहार गर्नुले नागरिकलाई कसरी न्याय मिल्ला भन्दै कोइरालाले आशंका व्यक्त गर्नु भयो ।
कोइरालाले शान्तिपूर्ण र्यालीमा पक्राउ परेका सबैलाई रिहाइ गर्दै जाहेरी दर्ता गर्न पनि प्रशासनलाई आग्रह गर्नु भएको छ ।
गएको असोज २१ गते दुई पक्षबीच झडप हुँदा ६५ वर्षीय महेन्द्र रामको उपचारका क्रममा असोज २२ गते मृत्यु भएको थियो ।
