पर्सा मालपोत कार्यालयमा छापा, प्रमुखससहित १८ जना पक्राउ

३० आश्विन २०७७, शुक्रबार ०८:१५

पर्साको मालपोत कार्यालयमा जिल्ला प्रशासन कार्यालयले बिहीबार अबेर राति छापा मारेको छ ।

जिल्ला मालपोत कार्यालय पर्सामा रातिसम्म पैसाको लेनदेन गरेर कामकारवाही भइरहेको विशेष सूचनाको अधारमा जिल्ला प्रशासन कार्यालय पर्साले छापा हानेको हो।

जिल्ला प्रशासन कार्यालय पर्साबाट सहायक प्रमुख जिल्ला अधिकारीको कमान्डमा खटिएको टोलीले मालपोत कार्यालयमा छापा मारेको हो ।

छापामा मालपोत कार्यालय पर्साका कर्मचारीसँगै कार्यालय बाहिरका ८ जना रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलका अनुसार विभिन्न फाइल भित्र राखिएको रकमसहित १८ जनालाई नियन्त्रणमा लिइएको छ ।

जिल्ला प्रशासनको टोलीले राति ८ बजेर ३० मिनेटपछि छापा मारेको हो । छापामा सेवाग्राहीसहित १८ जनालाई नियन्त्रणमा लिनुको साथै ११ हजार भन्दा बढी रकम बरामद भएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनु भयो ।

यता मालपोत कार्यालय पर्साका प्रमुख सुमन झाले देश यस्तो परिस्थितिमा हुँदा कारण कर्मचारीको भएकाले अबेर रातिसम्म काम गर्नुपरेको बताएका छन् । उनले अबेर रातिसम्म सेवा दिएको दाबी गरेका छन्।