नेपालमा २४ घण्टामा १,५५१ कोरोना संक्रमित थपिए

२० आश्विन २०७७, मंगलवार १६:५९

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप १५५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ ।

२२ हजार ७ सय ९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिनु भएको हो ।

यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २६३ थियो ।

२४ घण्टामा थप २,३४० जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप २,३४० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ६७ हजार ५४२ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६५ हजार २०२ रहेको थियो ।

मन्त्रालयका अनुसार सोमबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५५४ पुगेको थियो । पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोनाले मृत्यु भएसँगै ५६३ पुगेको छ ।