कात्तिक ३० काठमाडौं। नेकपा (एमाले) का उपाध्यक्ष तथा निर्वाचन अछाम क्षेत्र नं १ प्रतिनिधिसभाका उम्मेदवार भीम रावलले एमाले र माओवादी केन्द्रबीचको गठबन्धनले स्थिर सरकार निर्माणसँगै राष्ट्र समृद्धिको दिशातिर अघि बढ्ने बताएको छ ।
सञ्चारकर्मीसँग साँफेबगरमा बुधबार कुराकानी गर्दै पूर्व उपप्रधानमन्त्री रावलले वामपन्थी तालमेल र पार्टी एकता राष्ट्रको ऐतिहासिक आवश्यकता भएको बताए । नेता रावलले संविधानले सामाजिक–आर्थिक रुपान्तरणसहित समाजवाद उन्मुख व्यवस्थातर्फ मार्गनिर्देशन गरेकाले उक्त काम वाम गठबन्धनले मात्रै गर्नसक्ने बताए ।
उनले वाम गठबन्धनले देशको आर्थिक रुपान्तरणका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए । “काँग्रेसका नेताहरु चुनाव हार्ने डरले अहिले वाम गठबन्धनको शासन आए राष्ट्रको लागि अनिष्ट हुने भन्दै अभिव्यक्ति दिन थालेका छन् ।” पूर्व उपप्रधानमन्त्री रावलले भने– “वाम गठबन्धन र एकताले राष्ट्रको लागि अनिष्ट नहुने भई काँग्रेसका लागि मात्र अनिष्ट हुनेछ ।” उनले भने वाम गठबन्धनले मंसिर २१ गतेपछि दुई तिहाइ बहुमत ल्याएर विजयी भएपछि काँग्रेसका लागि पक्कै अनिष्ट हुनेछ । अहिले वाम गठबन्धनप्रति जनताको विश्वास रहेको भन्दै रावलले एकता प्रयासलाई समेत सकारात्मक रुपमा लिएको र वाम गठबन्धनले चुनावपछि जनताले चाहेको सरकार गठन गर्ने बताए ।
