‘कोरोना शक्ति राष्ट्रले सिर्जना गरेको हौवा हो, पार्टीमा वहस होस्ः नेकपाका नेता काफ्ले

१३ भाद्र २०७७, शनिबार १०:३३

काठमाडौं, सत्तारुढ नेकपाका दुई जना केन्द्रीय सदस्य एकै दिन कोरोना भाइरस मुक्त भएका छन्।

नेकपाका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्ले र अर्का केन्द्रीय सदस्य तथा सर्लाही जिल्लाका सह इन्चार्ज अच्युतम काफ्ले शुक्रबार एकै दिन कोरोना मुक्त भएका हुन्।

नेता काफ्लेलाई गएको साउन २४ गते र नेता वाग्लेलाई भदौ १ गते सर्लाहीमै गरिएको परीक्षणमा कारोना पोजेटिभ रिपोर्ट आएको थियो। काफ्ले २० दिनमा र वाग्ले १२ दिनमा कोरोना मुक्त भएका हुन्।

पोजेटिभ रिपोर्ट आएपछि काफ्ले सर्लाहीको हरिवनस्थित आफ्नै घरमा आइसोलेसनमा बसेका थिए भने वाग्ले धुलिखेल अस्पताल भर्ना भएका थिए।

महोत्तरीको बर्दिबासस्थित होम आइसोलेसनमा बसेका वाग्लेलाई स्वास्थ्यमा समस्या देखिएपछि ९ भदौमा धुलिखेल अस्पताल भर्ना गरिएको थियो। अस्पतालमा चार दिन बसेपछि वाग्ले कोरोनामुक्त भएका हुन्। उनी शनिबार बिहान अस्पतालबाट डिस्चार्ज भएका छन्।

कोरोना मुक्त भएपछि नेता अच्युतम काफ्लेले कोरोना संक्रमणको नाममा अहिले मान्छेलाई आतंकित बनाउने काम भइरहेको बताए।

‘मान्छे जन्मिँदै रुघाखोकी लिएर आएको हुन्छ,’ नेता काफेलेले शनिबार बिहान नेपालखबरसँग भने, ‘कोरोना पनि त्यस्तै रुघाखोकी लगाउने एक प्रकारको भाइरस हो। तर अहिले कोरोनालाई लिएर विश्वभरका सर्वसाधारणलाई आतंकित बनाउने काम भइरहेको छ, यो गलत हो।’

रिपोर्टले कोरोना पोजेटिभ देखाए पनि आफूलाई २० दिनसम्म कुनै लक्षण नदेखिएको काफ्लेले बताए। ‘पोजेटिभ रिपोर्ट आएपछि म २० दिन घरकै एकान्त बासमा बसेँ,’ उनले भने, ‘यत्तिका दिन आइसोलेसनमा बस्दा मलाई कोरोना विश्वका शक्तिराष्ट्रहरुले सिर्जना गरेको हौवा हो भन्ने लागेको छ। यसमा उनीहरुको आर्थिक स्वार्थ जोडिएको छ। पिसीआर परीक्षण पनि त्यहिँ हो। हामी त्यसको मारमा परेका छौँ।’

आफूले आइसोलेसनमा बस्दा जडिबुटी मिश्रित तातोपानीबाहेक कुनै औषधि पनि नखाएको उनको भनाई छ। ‘म भोली आइसोलेसनबाट बाहिर निस्कन्छु। अनि यो कोरोना हौवाको विषयमा पार्टी र समाजमा वहस सिर्जना गर्छु,’ उनले भने। (नेपालखबरबाट साभार)