सञ्चारकर्मीलाई घरैबाट काम गर्ने व्यवस्था मिलाउन महासंघको आग्रह

८ भाद्र २०७७, सोमबार १२:४५

काठमाडौं, कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै सञ्चारकर्मीहरुलाई घरैबाट काम गर्ने व्यवस्था मिलाउन नेपाल पत्रकार महासंघले आग्रह गरेको छ।

सञ्चार प्रतिष्ठानहरूले अति आवश्यक बाहेक घरबाटै काम गर्ने व्यवस्था मिलाउन र कार्यालय तथा फिल्डमा खटिने सञ्चारकर्मीहरुका लागि स्वास्थ्य सामग्रीको प्रयोगसँगै पर्याप्त सचेतता अपनाउने वातावरण निर्माण गर्न आग्रह गरेको हो।

हालसम्म कम्तीमा तीन दर्जन सञ्चारकर्मी संक्रमित भइसकेका र विशेषगरी फिल्डमा खटिने सम्वाददाता, फोटो पत्रकार र क्यामेरा पर्सनहरु संक्रमणको उच्च जोखिममा रहेका छन् महासंघले जनाएको छ।

साथै महासंघले फिल्डमा खटिने सबै सञ्चारकर्मीको पीसीआर परीक्षण गर्न समेत माग गरेको छ। सोमबार विज्ञप्ति प्रकाशित गरी महासंघले उच्च जोखिमका बीच फिल्डमा खटिने सञ्चारकर्मीहरुको निशुल्क पीसीआर परीक्षणको व्यवस्था मिलाउन सम्बन्धित निकायसँग आग्रह गरेको हो।