
काठमाडौँ । नेकपाभित्रको विवादलाई व्यवस्थापन गर्न मन्त्रिपरिषद हेरफेर हुने तयारी सुरु भएको छ ।
नेकपाभित्र झण्डै दुई महिनादेखि उत्कर्षमा पुगेको विवादलाई ब्यवस्थापन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद हेरफेर गर्न थाल्नु भएको हो । केपी शर्मा ओलीको नेतृत्वमा २०७४ फागुन ३ गते सरकार गठन भएको आज साढे दुई वर्ष पूरा भएको छ ।
को को हुँदैछन् नयाँ मन्त्री
स्रोतका अनुसार विवाद समाधानका लागि गठित कार्यदलमा रहेका नेताहरु मध्येबाटै नयाँ मन्त्री छानिने संभावना बढी छ ।
कार्यदलमा महासचिव विष्णु पौडेल, भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, शंकर पोखरेल र पम्फा भुसाल हुनुहुन्छ । नेकपाका स्थायी समिति सदश्य तथा पूर्व उपप्रधान मन्त्री टोप बहादुर रायमाझीलाई उपप्रधान सहित कुनै शक्तिशाली मन्त्रालयको जिम्मेवारी दिने गोप्य सुत्रले बताएको छ । यसै गरि मन्त्रीमण्डल पुन गठनमा देवेन्द्र पौडेलको सम्भावना रहेको स्रोतको भनाई छ ।
बाहिरिनेमा पुरानालाई प्राथामिकता दिने बताइए पनि नेकपाभित्रको शक्ति संघर्षमा ओलीलाई साथ दिँदै आएका सचिवालय सदस्यहरु पोखरेल र थापालाई प्रधानमन्त्रीले निरन्तरता दिने पक्का छ । यसै गरि प्रदिप ज्ञवाली, बर्षमान पुन, बिना मगर र शक्ति बस्नेत नफेरिने निश्चित जस्तै रहेको स्रोत बताउँछ ।
युवराज खतिवडालाई राजीनामा नगराए पनि राष्ट्रियसभामा पुनः मनोनित नभएमा उहाँको पद यही भदौ २० गतेदेखि सकिँदैछ । संघीय संसदको सदस्य नभए पनि ६ महिनासम्म मन्त्री हुन पाउने प्रावधान अन्तरगत उहाँ गत फागुन २० गते मन्त्री नियुक्त हुनु भएको थियो । उहाँलाई पुन नियुक्त गर्ने कि नगर्ने भन्ने विषयमा नेकपाभित्र अन्योलता छ ।
यसअघि गत मंसिर ७ गते एकैपटक ६ जना मन्त्री र तीन जना राज्यमन्त्री ओलीले हेरफेर गर्नु भएको थियो । त्यसअघि गत वर्ष साउन १५ गते रवीन्द्र अधिकारीको निधनका कारण रिक्त रहेको संस्कृत, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको जिम्मेवारी योगेश भट्टराईलाई दिइएको थियो ।
