काठमाडौं , गोंगबु हत्याकाण्डको यथार्थ बाहिर आएको छ । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा पक्राउ गरेको महिलाले अपराध स्वीकारेपछि शव पहिचान भएको भोलिपल्टै घटनाको यथार्थ बाहिर आएको हो ।
हत्यामा संलग्न कल्पना मुडभरी पौडेललाई महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । प्रहरीसँगको बयानमा पौडेलले आफ्नो अपराध स्वीकारेकी छन् ।
खाने कुरामा स्लिपिङ ट्याबलेट राखेर खुवाएको र त्यसपछि अण्डकोषमा हानेर मारेको उनले बताएकी छन् ।
शव व्यवस्थापनमा भने छोरीले पनि सघाएको बयान उनले दिएको प्रहरीले जनाएको छ ।
गोंगबुमा टाउको विनाको शव सुटकेशमा भेटिएको थियो । सुटकेशमा शव नआटाएपछि टाउको र खुट्टा काटेको उनले बताएकी छन् ।
टाउको र खुट्टा भने जेब्रा झोलामा अर्कै स्थानमा भेटिएको थियो । शरीर भेटिएपछि टाउको भने प्रहरीको जोजो नामक कुकुरले पत्ता लगाएको थियो ।
शवको सनाखत हुन नसकेपछि प्रहरीले फोटो नै सार्वजनिक गरेको थियो । त्यसपछि शव दाङका कृष्णबहादुर बोहोराको भएको खुलेको थियो । सनाखत भएकै दिन प्रहरीले मुडभरीलाई पक्राउ गरेको थियो ।