लामो दूरीका यातायात र विद्यालय खुल्ने परिस्थिति बनिसकेको छैनः प्रवक्ता खतिवडा

२२ श्रावण २०७७, बिहीबार १९:०२

काठमाडौं , सरकारले अहिलेको परिस्थितिमा लामो दूरीका यातायात, विद्यालय र हवाई उडान खुल्ने बातवरण तत्काल नबनेको जनाएको छ।

मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्ने क्रममा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले लामो दुरीका यातायात र आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडानहरु, विद्यालय खुल्ने अवस्था बनिनसकेको बताउनु भयो ।

सरकारले भदौ १ गतेदेखि लामो दूरीका यातायात तथा आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खुला गर्ने निर्णय गरेको थियो। तर अर्थमन्त्री खतिवडाले पछिल्लो समय कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले त्यसबारे पुनर्विचार गर्ने बताउनु भयो ।

मन्त्री खतिवडाले विदेशबाट आउनेहरुको हकमा अलपत्र परेका र उद्दार गर्नुपर्नेलाई ल्याउने तर तत्काल नआएपनि हुनेलाई केही समय धैर्य गर्न र परिस्थिति अति सहज हुँदासम्म पर्खन आग्रह पनि गर्नु भयो ।

सरकारले कोरोना संक्रमणको जोखिम कम गर्न कडाई गर्ने र आर्थिक गतिविधि सञ्चालन गर्न खुकुलो गर्ने गरी बिचको बाटो अपनाउने मन्त्री खतिवडाले बताउनु भयो ।

उहाँले कोरोना संक्रमण उच्च जनघनत्व भएका क्षेत्रमा बढी फैलिएकोले सरकारले थप सजगता अपनाएको र तयारी गरिरहेको बताउनु भयो ।