सनराइज बैंकको आन्तरिक विवाद राष्ट्र बैंकमा पुग्यो

१० श्रावण २०७७, शनिबार १७:३७

काठमाडौँ , सनराइज बैंकको सञ्चालक समितिमा भएको विवाद सतहमा पुगेको चर्चासँगै यस विषयमा चासो दिएको छ । सञ्चालक र प्रमुख कार्यकारी अधिकृतबीच जागिर छोड्ने र छोडाउनेसम्मको विषयले चर्चा पाएको भन्दै राष्ट्र बैंकले बैंकका सञ्चालक र प्रमुख कार्यकारी अधिकृत -सीईओ_लाई छलफलका लागि बोलाएको छ ।

राष्ट्र बैंकका एक उच्च अधिकारीले दिएको जानकारी अनुसार आइतबार बैंकका अध्यक्ष, सञ्चालक र सीईओलाई टेलिफोन गरेर बोलाइएको हो । विवाद बढेर सीईओलाई राजिनामा गर्न दवावसमेत परेको समाचार बाहिरबाटै पाएपछि वास्तविक कुरा बुझ्न आइतबार बोलाइएको ती अधिकारीले बताए । ‘केही सञ्चार माध्यममा विवाद भएको समाचारहरु छापिएको पायौं, केहिले त सीईओले राजीनामा नै दिएको खबरसम्म लेखिएको रहेछ’ कुराकानीमा उनले भने, ‘बैंकबाट हामीलाई केहि कुरा आएको छैन, बिवादबारे बाहिर धेरै हल्ला भएपछि सत्यतथ्य के रहेछ भनेर छलफलका लागि बोलाइएको हो ।’ उनले भोलिको छलफलपछि सत्यतथ्य बुझेर राष्ट्र बैंकले आवश्यक निर्णय गर्ने बताए । बैंकको प्रमुख कार्यकारी अधिकृतमा १ वर्ष पहिले जनक शर्मा पौड्याल नियुक्त भएका थिए । सुरुमा बैंक सञ्चालक समितिले निरज श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको थियो । तर केही सञ्चालकले निकै असन्तुष्टि जनाएपछि श्रेष्ठले नियुक्ति लिन मानेनन् । पछि पौड्याललाई नियुक्त गर्ने बेलामा भने सबै सञ्चालकको सहमति जुटेको थियो ।

विगत केही महिनादेखि भने बैंकका सञ्चालक मालचन्द दुगडले सीईओ पौड्यालप्रति केहि असन्तुष्टि जनाउँदै आएका थिए । तर, पौड्यालको पक्षमा बैंकका अध्यक्ष मोतिलाल दुगड उभिएका थिए । त्यसपछि अध्यक्ष र सीईओ मिलेर कामहरु आफूखसी गर्न खोजिएको आरोप लाग्दै आएको थियो । त्यहिँ विषयको बिवादले उग्र रुप लिँदा सीईओको राजिनामा समेत दुई जना सञ्चालकले मागेका थिए ।

यो विषय बाहिर आएपछि राष्ट्र बैंकले विाद समाधानका लागि भन्दै छलफलमा बोलाएको हो ।विवादको विषय भने दुबै पक्षले बाहिर ल्याउन चाहेका छैनन् । हाईस्पीड नेपाल डटकमबाट