
काठमाडौं, अझै चार दिन भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बाढी र पहिरोका आउनसक्ने भएकाले सतर्क रहन सबैलाई आग्रह गरेको छ।
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि मनसुन सक्रिय भएको छ। यो आगामी सोमबारसम्म कायम रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेकाले बदलीसहित वर्षा भईरहेको मौसमविद् विभूति पोखरेलले बताइन्। “आगामी सोमबारसम्म यी प्रणालीको प्रभाव रहन्छ। अबको चार दिन सतर्क रहनु पर्छ,” मौसमविद् पोखरेलले भनिन्।
मौसमविद्का अनुसार यस वर्ष वैशाखदेखि अहिलेसम्म प्रशस्त पानी परिहरेकाले जमिन गली सकेको छ। जसले गर्दा केही समयको हल्कादेखि मध्यम वर्षाले पनि बाढी, डुबान र पहिरोको जोखिम बढेको बताइएको छ।
विशेष गरी प्रदेश १, २, बागमती र गण्डकी प्रदेशमा धेरै वर्षा हुने मौसमविद्को अनुमान रहेको छ।
हाल देशभर आंशिकदेखि सामान्य बदली रही सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ। दिउँसो देशैभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरै जसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा ९.८ मिलिमिटर वर्षा भएको छ। त्यस्तै वीरेन्द्रनगरमा २३.५, सिमरामा ११.२, नेपालगञ्जमा १०.७ र सबैभन्दा धेरै पोखरामा १३६.७ मिलिमिटर वर्षा भएको छ।
