
काठमाडौं , सत्तारुढ दल नेकपाको बालुवाटारमा आइतबार भएको वार्ता पुनः भोलि सोमबार बस्ने गरी सकिएको छ । वार्तामा सहभागी एक नेताका अनुसार सवै विषयमा छलफल भएपनि कुनै निर्णय नभएको हो ।
सोमबार स्थायी समिति बैठक पनि बस्दैछ । ११ बजे बस्ने स्थायी समिति अघि ६ नेताहरुबीच पुनः बैठक बस्नेछ ।
आजको वार्तामा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालका साथै महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरु शंकर पोखरेल वर्षमान पुन तथा जनार्दन शर्मा सहभागी रहेका थिए ।
साक्षीका रुपमा ओलीका तर्फबाट महासचिव पौडेल र पोखरेल तथा प्रचण्डपक्षबाट शर्मा र पुन सहभागी भएका हुन् ।
बैठकपछि स्थायी समिति सदस्य जनार्दन शर्माले सबै कोणबाट छलफल भएको तर टुंगोमा पुग्न नसकिएको जानकारी दिनु भयो ।
