
काठमाडौं , गीतकार तथा सहित्यकार डा डीआर उपाध्यायले गीत संगीतबाटै फेरि अर्को विश्व रेकर्ड कायम गर्नु भएको छ । यसअगाडि विभिन्न १४ बिश्व रेकर्ड कायम गर्नु भएका उपध्यायले आधुनिक गीति एल्वम ‘मायाको सागर’मा रहेको ‘मायाको सागरमा पौडिन सिकायौ’ बोलको गीत बिभिन्न १२ भाषामा तयार गरेर उहाँले अहिले ‘गिनिज बुक अफ वल्र्ड’ रेकर्ड कायम गर्नु भएको हो । उहाँले नेपाली, हिन्दी, चाइनिज, जापानिज , अंगे्रजी, रेसियन, कोरियन, फ्रेन्च , स्पेन, इटालियन, जर्मन, थाई जस्ता भाषामा गीत तयार गर्नु भएको छ ।
शनिबार साँझ राजधानीमा आयोजित एक कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले गीतकार उपध्यायलाई ‘गिनिज बुक अफ वल्र्ड’ रेकर्ड प्रमाणपत्र प्रदान गर्नु भयो ।
सामाजिक दुरी कायम गर्दै केही मिडियाको उपस्थितिमा आयोजित कार्यक्रममा मन्त्री यादवले गीतसंगीत मार्फत उपाध्यायले धेरै विश्व रकेर्ड कायम गर्न सफल भएकोमा खुसी ब्यक्त गर्नु भयो ।
गीतमा सन्तोष श्रेष्ठको संगीत, सागर अधिकारी ‘शरद’, प्रकाश तिमिल्सिना र गीतकार उपाध्यायकै स्वर रहेको छ ।
उपाध्यायका ‘प्रणय’, ‘कृति’, ‘माउण्टेन मेलोडी’, ‘नशालु नजर’, ‘सेभेन्थ कडस’, ‘अन्जान तिर्खा’, ‘जोहो’लगायत १९ एल्वम मार्फत सयौं गीत बाहिर आएका छन् ।
गीतका अलवा साहित्यका बिभिन्न बिधामा समेत कलम चलाउदै आउनु भएका उपध्यायका ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘दगाबाज’ ‘स्वार्थी’, ‘अधुरो प्रेम’ लगायत दश उपन्यास प्रकाशित छन् ।
प्रेम, रोमान्स, ट्रयाजेटी देखि स्वास्थ्य तथा योगसम्मका गीत लेख्दै आउनु भएका उपाध्यायले ‘वल्र्ड बुक्स अफ अमेरिका’, अष्ट्रेलिया, लण्डन, ‘मिराकल वल्र्ड रेकर्ड’, ‘इण्डिया स्टार वल्र्ड रेकर्ड’, ‘एक्सक्लुसिभ वल्र्ड रेकर्ड’, ‘जीनस वल्र्ड रेकर्ड’ र ‘एभरेष्ट वल्र्ड रेकड’ प्राप्त गरि सकनु भएको छ । उपध्याय गीतकार संघ नेपालको नवौं वार्षिकोत्सवमा ‘वर्ष गीतकार पुरस्कार’बाट समेत सम्मानित हुनु भएको थियो ।
