
काठमाडौं , केही दिनअघि देशको पूर्वी भू–भाग हुँदै प्रवेश गरेको मनसुन देशभर सक्रिय भएको छ । मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय भएसँगै केही दिन वर्षाको सम्भावना रहेकाले बाढी पहिरोबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाले आगामी २४ घण्टा देशको धेरै जसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश १, २, ५, वाग्मती, गण्डकीका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको औँल्याएको छ ।
ती क्षेत्रहरुमा नदीमा पानीको बहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायातसमेत प्रभावित हुने सम्भावना रहेकाले सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ । मौसमविद् विभूति पोखरेलका अनुसार सुदूरपश्चिम प्रदेशका केही स्थानमा पश्चिमी वायुको प्रभाव र अन्य भू–भागमा मनसुनी वायुको असर रहेको छ ।
