
काठमाडौँ , बरिष्ठ कलाकार जयनेन्द्र चन्द ठकुरीको आज निधन भएको छ ।
बागडोलस्थित आफ्नै घरमा बिहान ११ बजेर २० मिनेटमा उहाँको निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले जानकारी दिनु भयो ।
लामो समयदेखि प्यारालाइसिस रोगका कारण थलिनुभएका ठकुरीको ८० बर्षको उमेरमा निधन भएको हो । उहाँको आजै पशुपति आर्यघाटको विद्युतिय शव गृहमा अन्त्येष्टी गरिदैछ ।
चार दशक भन्दा लामो समयदेखि कलाकारितामा सक्रिय ठकुरीले ‘एक्का ट्रायल, पर्खी बसे, दुई पल, अंगरक्षक, माया बैगुनी, चाँदनी, चोर, ज्वाला, देउकी, अधिकार’ लगायतका चलचित्रमा अभिनय गर्नु भएको छ । सय भन्दा बढी चलचित्रमा अभिनय गर्नु भएका ठकुरीले केही सिरियलमा समेत काम गर्नु भएको छ ।
