जातीय विभेद र छुवाछूतप्रति सरकार गम्भीर भएनः सांसद लक्ष्मी परियार

१४ जेष्ठ २०७७, बुधबार १७:५२

सांसद लक्ष्मी परियारले जातीय विभेद तथा छुवाछूतप्रति सरकार गम्भीर नभएको आरोप लगाउनु भएको छ ।

सरकारले संविधानको कार्यान्वयन नगरेको समेत उहाँको आरोप छ ।

बुधबार प्रतिनिधिसभा बैठकमा उहाँले सरकारसँग प्रश्न गर्दै भन्नु भयो, ‘जातीय विभेद तथा छुवाछूतप्रति सरकार किन संवेदनशील छैन ? ६० लाख दलित समुदायमाथि किन यति ठूलो कुठाराघात भइरहेको छ ? संविधानको धारा २४ प्रति सरकारको किन दृष्टि परिरहेको छैन ? के ६० लाख दलित समुदायलाई मारेरै सिद्धाउने हो ? यदि होइन भने संविधानमा भएको प्रावधान कानुन कार्यान्वयन हुनुपऱ्यो ।’

संविधानको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा उहाँको जोड थियो ।

जातभातको ठेकेदारी गर्नेहरूलाई खुलमखुला छोडेर मनपरी गर्न दिएको उहाँले आरोप लगाउनु भयो ।

रुकुम घटनामा मृतक परिवारले क्षतिपूर्तिसहित न्याय पाउनुपर्ने उहाँको माग छ ।