
बिष्णु प्रसाद शर्मा,
कोभिड–१९ संक्रमणको रोकथामका लागि भन्दै सरकारले घोषणा गरेको लकडाउन आज ६३ दिन पुगेको छ । नेपालजस्तो सानो अर्थतन्त्र भएको मुलुकमा यसको ठूलो प्रभाव परिरहेको छ ।
अहिले नेपाल यो संक्रमणबाट पीडित छ । जेठ २० सम्म लकडाउन घोषणा गरिएको छ । तर यति लामो समय बिति सक्दा पनि समस्या समाधान हुने संकेत देखिएन । महामारी नियन्त्रणका लागि सरकारले चालेको कदम समाधान तर्फ नगएर संक्रमितको संख्या दिन प्रतिदिन बढदै गएको अवस्था छ ।

लकडाउनको अवधि जतिजति लम्बिँदै गएको छ, त्यति त्यति अभाव र भोकमरी संकट बढ्दै गएको अवस्था देखिन्छ । लकडाउनका कारण नेपाली नागरिकहरुलाई रोगभन्दा भोकको समस्याले सताएको छ । दैनिक ज्यालादारीमा काम गर्ने मजदूरहरुलाई त लकडाउन सुरु हुँदा देखि नै समस्या सुरु भएको हो । यो बारेमा सरकार गम्भीर हुन जरुरी छ ।
उद्यमीहरुको समस्या पनि बढ्दै गएको छ । घरभाडा, बैंकको ब्याज, कर्मचारीको तलबजस्ता समस्या बढ्दै गएका छन । रोगविरुद्धको यो लडाइँसँगै यो संकटलाई सम्बोधन गर्नु पर्ने बेला आएको छ । अबका दिनमा स्वास्थ्य जोखिमलाई सर्तकता अपनाएर लकडाउन खुकुलो गदै अर्थतन्त्रलाई चलायमान बनाउनु पर्ने आबश्यकता देखिएको छ । संक्रमण जोखिमलाई न्यूनीकरण गर्न सामाजिक दूरी कायमै राख्नु पर्ने हुन्छ । तीनै तहका सरकार, नेपाल राष्ट्र बैंक तथा अन्य नियमनकारी निकायहरुले निजी क्षेत्रलाई माथि उठाउन अल्पकालीन रुपमा एउटा प्याकेज ल्याउनु पर्ने देखिन्छ । सरकार भने जनता जोगाउने भन्दा एमसीसी पास गराउन तल्लिन छ । उता भारतलाई उत्तेजित बनाएर गुमनाममा छ । शर्मा, नेपाल संरक्षण अभियानका केन्द्रीय संयोजक हुनुहुन्छ ।
