प्रधानमन्त्री ओलीले आज संसदमा जवाफ दिने

६ जेष्ठ २०७७, मंगलवार ०८:५८

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्नहरूको संसदमा जवाफ दिने हुनु भएको छ । आज मध्यान्ह १२ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची तय गरिएको संघीय संसदका महासचिव डाक्टर भरतराज गौतमले जानकारी दिनु भयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले २ जेठमा संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । आजकै बैठकमा नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ। त्यसपछि राष्ट्रपतिबाट प्रस्त्तुत नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्नु हुने छ ।