नेपालमा उत्पादित फलफूल तथा तरकारी उपभोक्तासम्म पु-याउन सरकारको नाममा सर्वोच्चको अन्तरिम आदेश

४ जेष्ठ २०७७, आईतवार २०:०३

काठमाडौं , सर्वोच्च अदालतमा परेको रिट निवेदनको आधारमा भारत लगाएत अन्य देशहरुबाट कोरना (कोभिड –१९) परीक्षण नगरी बिना रोकटोक नेपाल भित्रायाउने गरेको फलफूल तथा तरकारीजन्य वस्तुहरु रोकिपाउँ र नेपाली किसानहरुबाट उत्पादन गरिएका फलफूल तथा तरकारीहरु उपभोक्ता समक्ष सहज रुपमा पु¥याउने व्यवस्था गरियोस् भनी अधिवक्ता धर्मराज खनाल समेतले रिट निवेदन दर्ता गर्नुभएको थियो ।

उक्त रिट निवेदनमा आज अधिवक्ताहरु धर्मराज खनाल,मणिराम उपाध्याय,पुरुषोत्तम अर्याल, पदम बहादुर श्रेष्ठ,विकाश भट्टराई, कमल कोइराला,लक्ष्मीनानी थापा, पारसमणि भट्टराईसमेतले बहस गर्नुभएको थियो ।उक्त रिट निवेदनको पक्षमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका माननीय न्यायाधीश श्री दिपक कुमार कार्की र माननीय न्यायाधीश श्री हरि प्रसाद फुयालको संयुक्त इजलासले भारत लगायत अन्य देशहरुबाट आयात हुने फलफूल तथा तरकारी जस्ता वस्तुहरुमा पाइने विषादी तथा कोभिड १९ को परीक्षण गरी मात्र आयात गर्नु साथै आन्तरिक रुपमा तथा स्वदेशमा उत्पादन भएका फलफूल तथा तरकारीहरुको विषादी तथा कोभिड १९ को परीक्षण गरी उपभोक्ता समक्ष वितरण गर्ने व्यवस्था गर्नु भनी नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषद्को नाममा अन्तरिम आदेश जारी गरी दिएको छ ।