भारत र चीनको व्यवहारप्रति नेपाली कांग्रेस (विपी) को आपत्ति

३० बैशाख २०७७, मंगलवार १२:२७

काठमाडौं , नेपाली कांग्रेस (विपी) ले भारत र चीनले गरेको व्यवहारप्रति आपत्ति जनाएको छ । पार्टीको आज बिहान भिडियो कन्फ्रेन्सबाट बसेको बैठकले दुवै देशलाई आफ्नो निर्णय सच्याउन आग्रह गरेको छ । पार्टीले नेपाल र नेपालीको रक्षा र सार्वभौमसत्ताको रक्षाका लागि सरकारसँग समन्वय गर्ने र सुझाव दिने पनि निर्णय गरेको छ ।
पार्टी महामन्त्री सुशीलमान शेरचनले केही दिनअघि भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालको भूमीमा गरेको सडक उद्घाटनले नेपालको सार्वभौमिकतामाथि प्रहार भएको बताएका छन् । भारतले पटकपटक थिचोमिचो गर्दै आएपनि नेपाल सरकारले केही नबोलेकामा पनि आपत्ति जनाएको छ । भारत र चीनले नेपालमाथि गरेको व्यवहारको विरुद्धमा खुलेरै बोल्नुको साटो सरकारले उल्टै चाकरी गरेको भन्दै यस्तो क्रियाकलाप तत्काल रोक्नसमेत आग्रह गरिएको छ । पार्टीले निर्माण गर्दै गरिएको सडक तत्काल बन्द गर्न र कूटनीतिक पहल गर्न माग गरेको छ । पार्टीले दुवै देशसँग कूटनीतिक पहल गर्न आफूहरु पनि समन्वय गर्न तयार भएको पनि जनाएको छ ।
केही दिनअघि सिंहदरवार अगाडि चिनियाँ नागरिकले नेपालका सुरक्षाकर्मीमाथि गरिएको आक्रमण निन्दनीय भएको भन्दै दुःख व्यक्त गरेको छ । पार्टीले चिनियाँ दूतावासले सरकारसँग समन्वय गरी आफ्ना नागरिक फिर्ता गराउन पहल गर्नुपर्ने स्पष्ट पारेको छ । एकै दिन भारतले नेपालमा सडक निर्माण गर्नु र चिनियाँ नागरिकले सुरक्षाकर्मीमाथि आक्रमण गर्नु दुःखद् भएको पार्टीको निश्कर्ष छ । पूर्व प्रधानमन्त्री सुशील कोइरालाले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भएको दावी गर्दै गरिएको पहल उल्लेखनीय भएको भन्दै पार्टीले यो कदमको प्रसंशा गरेको छ । तत्कालीन सरकारले भारत सरकारलाई बुझाएको प्रतिवेदन अनुसार सरकार अघि बढ्नुपर्ने पार्टीले सुझाव दिएको छ । त्यतिबेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख सुर्यनाथ उपाध्यायाको नेतृत्वका गठित कार्यदलले तयार पारेको प्रतिवेदन अनुसार जान पनि सरकारलाई आग्रह गरिएको छ । प्रतिवेदन कार्यान्वयनको दिशामा जाँदै गर्दा कोइरालाको सरकार ढलेको र त्यसपछि बनेका सरकारले काम नगरेको महामन्त्रीको आरोप छ ।