दक्षिण एसियामा बढ्दो कोरोनाको ग्राफ, सीमावर्ती भारतमा संक्रमण बढ्दा नेपाल जोखिममा

२९ बैशाख २०७७, सोमबार २१:३३

काठमाडौं: कोभिड-१९ को संक्रमणबाट विश्वभर ४१ लाख बढी मानिस संक्रमित भइसकेका छन्। कोरोना भाइरसको तथ्यांक संकलन गरिरहेको जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांक अनुसार हालसम्म ४१ लाख तीन हजार एक सय ५२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

तथ्यांक अनुसार हालसम्म दुई लाख ८२ हजार सात सय २७ जनाको मृत्यु भइसकेको छ। चीनको वुहानमा पहिलोपटक गत डिसेम्बरको अन्त्यमा पहिलोपटक पुष्टि भएको नोबेल कोरोना भाइरस (कोभिड-१९) यतिबेला युरोप, अमेरिकापछि दक्षिण एसियामा तीब्र रुपमा फैलिँदै गएको छ।

जोन्स हप्किन्स विश्वविद्यालयले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ), युरोपेली रोग नियन्त्रण तथा रोकथाम केन्द्र र विश्वभरका सरकारी स्वास्थ्य संस्था र स्थानीय सञ्चार माध्यमहरुबाट तथ्यांक संकलन गरिरहेको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म २१५ देश/भूगोल/क्षेत्रमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

दक्षिण एसियामा कोरोना भाइरसको संक्रमणको ग्राफ पनि उकालो लागिरहेको छ। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य मुलुकहरुमा पछिल्लो साता मात्र ४५ प्रतिशत बढीले संक्रमण बढेको छ।

हालसम्‍म दक्षिण एसियामा एक लाख १९ हजार एक सयमा संक्रमण पुष्टि भइसकेको छ। जुन गत मे ४ भन्दा ३७ हजार ३०४ ले बढी हो। मे ४ मा ८१ हजार सात सय ९६ जना थियो। यहाँ अप्रिल २८ मा संक्रमित हुनेको संख्या ५१ हजार आठ सय ५५ थियो।

पहिलोपटक जनवरी २७ मा संक्रमण पुष्टि भएको दक्षिण एसियामा अप्रिल १६ सम्म आइपुग्दा संक्रमितको संख्या २३ हजार एक सय १६ थियो। त्यसको १२ दिन पछि अप्रिल २८ सम्म आइपुग्दा यो संख्या दोब्बरले बढ्दै ५१ हजार ८ सय ५५ पुग्यो। अर्को एक सातामा यो संख्या ८१ हजार सात सय ९६ पुगेको थियो।

त्यसको एक सातापछि मे ११ सम्म आइपुग्दा एक लाख १९ हजार एक सय पुगेको छ। जुन मे ४ को संक्रमण संख्याभन्दा ४५.५८ प्रतिशतले बढी हो।

त्यस्तै यस क्षेत्रमा मृतकको संख्या पछिल्लो साता ४० प्रतिशतले बृद्धि भएको छ। हालसम्म दक्षिण एसियामा मृत्यु हुनेको संख्या तीन हजार दुई सय ३९ छ। जुन मे ४ सम्म दुई हजार तीन सय २३ थियो। अप्रिल २८ सम्म दक्षिण एसियामा मृत्यु हुनेको संख्या एक हजार चार सय ४७ मात्र थियो।

दक्षिण एसियामा पहिलो श्रीलंकामा जनवरी २७ मा पहिलो केस देखिएको थियो। त्यसको तीन दिनपछि भारतमा पनि कोरोना भाइरसको संक्रमण देखियो। त्यस्तै फेब्रुअरी २४ अफगानिस्तानमा पहिलो केस दर्ता भयो। त्यसको अर्को दिन फेब्रुअरी २५ मा नेपालमा पहिलो केस देखियो। फेब्रुअरी २६ मा पाकिस्तानमा एकै पटक दुई केस दर्ता भए। भुटानमा मार्च ६ मा पहिलो केस दर्ता भयो।

मार्च ८ मा मालदिभ्समा एकै पटक चार केस दर्ता भए। सोही दिन बंगलादेशमा पनि एकै पटक तीन केस पुष्टि भयो।

हालसम्म आइपुग्दा दक्षिण एसियामा सबैभन्दा बढी भारतमा संक्रमित देखिएका छन्। आज बिहान ८ बजेसम्मको तथ्यांक अनुसार भारतमा ६७ हजार दुई सय ५९ पुगेको छ। जुन मे ४ मा ४६ हजार चार सय ३७ थियो। त्यसको एक साता अगाडि अप्रिल २८ सम्म संक्रमित २९ हजार चार सय ५१ थियो।

भारतमा पहिलो केस जनवरी ३० अनि फेब्रुअरीको अन्त्यसम्म तीन केस मात्र दर्ता भएका थिए। मार्च १५ सम्म आइपुग्दा यो संख्या १ सय १३ पुग्यो। मार्च ३१ मा संक्रमितको संख्या १४ सय नाघ्यो। अप्रिल १६ मा यो संख्या १३ हजार चार सय ९५ पुगेको थियो।

यो सातामात्र भारतमा यो एक सातामात्र भारतमा २० हजार आठ सय २२ जनामा संक्रमण पुष्टि भएको थियो। अघिल्लो साता यहाँ संक्रमित हुनेको संख्या करिब १७ हजारमा थियो। त्यसअघिको १२ दिनमा भारतमा करिब १६ हजारमा मात्र कोभिड-१९ को संक्रमण पुष्टि भएको थियो।

त्यस्तै कोभिड-१९ को संक्रमणबाट भारतमा मृत्यु हुनेको संख्या दुई हजार दुई सय १२ पुगेको छ। जुन मे ४ सम्मभन्दा छ सय ४६ ले बढी हो। मे ४ सम्म एक हजार पाँच सय ६६ थियो। त्यसको एक साता अगाडि अप्रिल २८ सम्म मृत्यु हुनेको संख्या ९ सय ३९ थियो।

भारतपछि दक्षिण एसियामा बढी संक्रमित देखिएको छ पाकिस्तानमा।

फेब्रुअरी २६ मा एकैपटक दुई केस देखिएको पाकिस्तानमा पछिल्लो साता संक्रमितको संख्या १० हजारले बढेको छ। मार्च ३१ सम्म पाकिस्तानमा संक्रमितको संख्या बढेर एक हजार ९ सय थियो। त्यसको एक महिनापछि यो संख्या बढेर १४ हजार पुग्यो। जुन मे चारसम्म आइपुग्दा पछिल्लो साता यो संख्या सात हजार २६ ले बढ्दै २० हजार ९४१ पुगेको थियो। पछिल्लो साता यो संख्या १० हजार बढ्दै ३० हजार नौ सय ४१ पुगेको हो।

यो साता पाकिस्तानमा कोरोना भाइरसका कारण एक सय ९१ जनाको मृत्यु भयो। हालसम्म पाकिस्तानमा मृत्यु हुनेको संख्या छ हजार ६७ पुगेको छ।

बंगलादेशमा मार्च ८ मा पहिलोपटक तीन केस देखिएको बंगलादेशमा हालसम्म आइपुग्दा १४ हजार छ सय ५७ पुगेको छ। यहाँ पनि पछिल्लो चार हजार बढी संक्रमित पुष्टि भएका छन्। गत साता मे ४ सम्म संक्रमितको संख्या १० हजार एक सय ४३ थियो।

यहाँ मृत्यु हुनेको संख्या दुई सय २८ पुगेको छ। मे ४ मा यो संख्या एक सय ६२ थियो।

अफगानिस्तानमा पछिल्लो एक सातामा एक हजार पाँच सय ८ जनामा संक्रमण पुष्टि भएको छ। मे चारसम्म संक्रमितको संख्या दुई हजार आठ सय ९४ थियो भने त्यसको एक सातापछि मे ११ सम्म आइपुग्दा यो संख्या चार हजार चार सय २ पुगेको छ। यहाँ मृत्यु हुनेको संख्या एक सय २० पुगको छ। जुन अघिलो साता भन्दा ३० ले बढी यो। मे ४ सम्म अफगानिस्तानमा मृत्यु हुनेको संख्या ९० थियो।

जनवरी २७ मा पहिलो केस देखिएको श्रीलंकामा हालसम्म सात जनाको मृत्यु भएको छ। यो साता श्रीलंकामा एक जनाको मृत्यु भयो।

श्रीलंकामा हालसम्म आठ सय ६३ पुगेको छ। गत साता यो संख्या सात सय ५१ थियो।

दक्षिण एसियाको अर्को देश मालदिभ्स कोभिड-१९ बाट यो साता दुई सय ९४ जना संक्रमित भएका छन्। त्यहाँ संक्रमित हुनेको संख्या आठ सय ३५ पुगेको छ। यो संख्या गत साता पाँच सय ४१ थियो।

यसै साता मालदिभ्समा कोरोना भाइरसका कारण पहिलो मृत्यु दर्ता भएको छ।

यता पछिल्लो साता नेपालमा ५२ जना संक्रमित भएका छन्। मे ४ मा संक्रमित हुनेको संख्या ८२ थियो। जुन यो समाचार तयार पार्दासम्म (मे ११) मा एक सय ३४ पुगेको छ। सोमबारमात्र नेपालमा २४ जना नयाँ संक्रमित पुष्टि भएका छन्।

यो साता दक्षिण एसियाको अर्को मुलुक भुटानमा दुई जनामा संक्रमण पुष्टि भएको छ। भुटानमा मार्च ६ मा पहिलो केस दर्ता भएको थियो।

भारतमा संक्रमण बढ्दा नेपालमा जोखिम

नेपालमा आज सोमवारको पछिल्लो अपडेट अनुसार संक्रमितको संख्या १२१ पुगेको छ। पछिल्लोपटक संक्रमण पुष्टि भएका सबै जिल्ला भारतीय सीमावर्ती जिल्ला हुन्।

सुरुवातमा चीन, युरोप र खाडीबाट आएका नेपालीमा संक्रमण देखिएको भए पनि पछिल्लोपटक देखिएका अधिकांश संक्रमणको कनेक्सन भारतसँग जोडिएको छ।

सोमबार संक्रमण पुष्टि भएकामध्ये कपिलवस्तुका १० जना पछिल्लो सातामात्र भारतबाट नेपाल प्रवेश गरेका थिए। सोमबार कपिलवस्तुको यशोधरा गाउँपालिकामा ८ जना र वुद्धभूमि नगरपालिकामा दुई जनाको संक्रमण पुष्टि भयो। संक्रमित यसै सातामात्र भारतबाट लुकिछिपी नेपाल प्रवेश गरेका हुन्। त्यस्तै बुधवार र शुक्रवार पुष्टि भएका कपिलवस्तुकै मायादेवी गाउँपालिकाका पाँच जना पनि पछिल्लो साता भारतबाट लुकिछिपी नेपाल प्रवेश गरेका थिए।

रुपन्देही जिल्लाका एकमात्र संक्रमित पनि वैशाख ५ गत लुकिछिपी नेपाल प्रवेश गरेका थिए। बाँकेमा देखिएको कोभिड-१९ को संक्रमणको चेन पनि भारतसँगै जोडिएको छ।

उदयपुर भुल्केमा भारतीय नागरिकहरुमा संक्रमण देखिएको थियो। यद्यपि यिनीहरुको कोरोनासँगको कनेक्सन भारत हो वा होइन भन्ने खुलेको छैन।

त्यस्तै भारतसँग सीमा जोडिएको दुई नम्बर प्रदेशमा हालसम्म ३२ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै भारतसँग सीमा जोडिएका प्रदेश ५ का जिल्लाहरुमा मात्र संक्रमण देखिएको छ। यहाँ संक्रमितको संख्या ५३ पुगेको छ।

सुदूरपश्चिम प्रदेशमा चार संक्रमण प्रमाणित हुँदा तीन जनाको कनेक्सन भारतसँग छ।

नेपालका २७ जिल्ला भारतसँग सीमा जोडिएका छन्। भारतका चारवटा राज्यसँग नेपालको सीमा जोडिएका छन्। नेपालसँग सीमा जोडिएको भारतको उत्तर प्रदेशमा हालसम्म तीन हजार चार सय ६७ जना संक्रमित भइसकेका छन्। यहाँ मृत्यु हुनेको संख्या ७४ पुगेको छ। कपिलवस्तु, रुपन्देही र बाँके जिल्ला उत्तर प्रदेशसँग सीमा जोडिएका छन्।

त्यस्तै पश्चिम बंगालमा एक हजार नौ सय ३९ जनाको संक्रमण पुष्टि भएको छ। यहाँ मृत्यु हुनेको संख्या १८५ छ।

त्यस्तै विहारमा छ सय ९६ जनामा संक्रमण पुष्टि भएको छ। यहाँ मृत्यु हुनेको संख्या ६ छ। नेपालको प्रदेश २ भारतको विहार राज्यसँग जोडिएको छ।

उत्तराखण्डमा ६८ जनामा संक्रमण पुष्टि भएको छ। यहाँ मृत्यु हुनेको संख्या एक छ। सुदूरपश्चिममा भारतसँग कनेक्सन जोडिएका तीन जनाको उत्तराखण्डबाट नेपाल प्रवेश गरेका हुन्।

पछिल्लोपटक लकडाउन र सीमा नाका बन्द हुँदा खुला सीमाका कारण रातारात सर्वसाधरण नेपाल प्रवेश गर्दा जोखिम बढ्दो छ।