सभामुख सापकोटाद्वारा सञ्चारकर्मीको उच्च सम्मान

२१ बैशाख २०७७, आईतवार १६:१७

काठमाडौं , सभामुख अग्निप्रसाद सापकोटाले हाल नोभल कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थितिमा अहोरात्र खटेर सूचना प्रवाहमा निरन्तर लागीरहेका सञ्चारकर्मीप्रति उच्च सम्मान प्रकट गर्नु भएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आइतबार शुभकामना सन्देश दिँदै उहाँले विषम अवस्थामा पनि निरन्तर सूचना संकलन गरी सचेतना जगाउने र राज्यका सबै अङ्गलाई झक्झकाइरहने सञ्चारमाध्यम र सञ्चारकर्मीलाई सम्मान व्यक्त गर्नु भएको हो ।

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा प्रेस र अभिव्यक्ति स्वतन्त्रताका लागि जीवन अर्पण गरेका सञ्चारकर्मीप्रति सभामुख सापकोटाले हार्दिक श्रद्धासुमन प्रकट गर्नु भएको छ । सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले घोषणा गरेपछि युनस्कोको आह्वानमा प्रत्येक वर्ष मे ३ तारिखमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै आइएको छ ।