
काठमाडौं , नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले सरकारले सोमबार ल्याएको राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश गलत र असान्दर्भिक भएको बताएको छ ।
महामन्त्री मोहनविक्रम सिंहले विज्ञप्ति जारी गरी अध्यादेशले नेपालको प्रजातान्त्रिक प्रणालीमाथि कुठाराघात गरेको बताउनु भएको छ ।
संसद नभएको बेला अध्यादेशमार्फत ऐन संशोधन गर्नुले गम्भीर षड्यन्त्रको शंका उब्जाएको मसालले उल्लेख गरेको छ । ‘या त त्यसका पछाडि स्वयं नेकपालाई नै विभाजन गर्ने उद्देश्यले काम गरेको छ या त्यसका पछाडि अन्य राजनीतिक दलहरूमा विभाजन ल्याउने उद्देश्यले काम गरेको छ,’
संवैधानिक परिषद् सम्बन्धी अध्यादेशले दुईजना मात्र संवैधानिक परिषद्का सदस्यलाई सबै महत्वपूर्ण विषयमा निर्णय गर्ने अधिकार प्रदान गर्नेभन्दै यसबाट सरकारको एकाधिकारवादी प्रवृत्ति देखिएको मसालले बताएको छ ।
