
काठमाडौं, कोरोना भाइरसको संक्रमणले क्षति पुयाएको निजी क्षेत्रलाई आर्थिक प्याकेजको व्यवस्था गर्न सरोकारवालाहरुले माग गरेका छन् । बुधबार आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘कोरोनाको महामारीबाट निजी क्षेत्रमा प्रभाव र आगामी कदमहरु’ विषयमा भिडियो कन्फ्रेन्समार्फत निजी क्षेत्रका सरोकारवालाहरुले यस्तो माग गरेका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले निजी क्षेत्रलाई परेको क्षतिको आँकलन गरी राहत प्याकेज ल्याउनुपर्ने बताउनु भयो । “सरकारले आफ्नो क्षमताअनुसार राहत प्याकेज ल्याओस” अध्यक्ष राणाले भन्नु भयो ।
अहिले सरकारसहित हरेक क्षेत्रमा परेको असरलाई ध्यानमा राखेर क्षमता अनुसारको राहत ल्याउन माग गर्नु भएको हो । यदि सरकारले राहत प्याकेजको व्यवस्था नगर्ने हो भने उद्योग तथा व्यवसाय क्षेत्र पूर्णरुपमा शिथिल बन्ने अध्यक्ष राणाको भनाई थियो ।
अहिले सरकारले निजी क्षेत्रलाई खासै राहत नल्याएको उहाँले बताउनु भयो । अहिले निजी क्षेत्रका कामदारलाई तलब दिने, व्याज तिर्ने जस्ता विषयमा अप्ठेरो भएको उहाँले बताउनु भयो । व्याज तिर्ने समय राष्ट्र बैंकले असारसम्म सारेको स्मरण गर्दै खास गरी रुग्ण उद्योगहरु निकै शिथिल भएको अध्यक्ष राणाको भनाई थियो । यस्ता क्षेत्रहरुलाई कसरी राहत दिन सकिन्छ भनेर सरकारले कार्यक्रम ल्याउनुपर्ने उहाँको भनाई थियो । सरकारसँग राहत माग्ने मात्रै होइन,कारोरोनासँग लड्न निजी क्षेत्र एक भएर लागेको उहाँको भनाई थियो ।
उद्योग परिसंघका अध्यक्ष शतिशकुमार मोरले कोरोनाका कारण उद्योग तथा व्यवसायमा परेको क्षतिलाई रहत दिन सरकारले ऋणमा सहुलियत दिनुपर्ने बताउनु भयो । त्यसका लागि राष्ट्र बैंक तथा अर्थमन्त्रालयलाई जानकारी समेत गराएको अध्यक्ष मोरको भनाई थियो । त्यस्तै अहिलेको अवस्थामा ब्याजलाई कम्तीमा ५ प्रतिशतले घटाउनुपर्ने माग गरेका छन् । यसले अर्थतन्त्रलाई माथि उकास्न थोरै भएपनि सहयोग हुने अध्यक्ष मोरको भनाई थियो ।
त्यसैगरी,नेपाल चेम्बर्स अफ कमर्शका वरिष्ठ उपाक्ष्यक्ष राजेन्द्र मल्लले अहिलेको परिस्थितिमा सरकारले विशेष आर्थिक प्याकेज ल्याउनुपर्ने बताउनु भयो । तर तत्काल आर्थिक पाटोलाई छोडेर रोगबाट कसरी उन्मुक्ति पाइन्छ भन्ने कुरामा केन्द्रीत रहनुपर्ने उहाँको भनाइ थियो । त्यसका लागि आम नेपाली एक भएर लाग्नुपर्ने उपाध्यक्ष मल्लले बताउनु भयो ।
