बैंक नखुल्दा सेवाग्राही मर्कामा

४ बैशाख २०७७, बिहीबार १४:४७

हेटौंडा , कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहदा यहाँका बैंक तथा वित्तीय संस्थाले सेवा प्रवाह नगर्दा सेवाग्राही समस्यामा परेका छन् । मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपराज नेपालको अध्यक्षतामा हालै बसेको बैठकले नियमित रूपमा बैंक तथा वित्तीय संस्थाहरु सञ्चालन गर्नुपर्ने र एटीएम पनि खुल्ला राख्ने निर्णय गरेको थियो । तर प्रशासनको निर्णयअनुसार वित्तीय संस्थाले आफ्ना सेवालाई सुचारू नगर्दा सेवाग्राही समस्यामा परेको जनाइएको छ ।

सेवाग्राहीले बैंकमा रकम झिक्न र लिन जाँदा बैंकहरु बन्द रहेको बताएका छन् । हेटौँडामा एनआइसी एशिया, सिर्जना, माच्छापुछ्रे, मेघा, नोविल, एनएमबी लगायतका अधिकांश बैंक तथा वित्तीय संस्था बन्द रहेको गुनासो पाइएको छ । सेवाग्राहीका अनुसार बैंकका पहरेदारले मुख्यद्वारबाट फर्काउने गरेको तथा एटिएम बिग्रेको तथा कम्प्युटरमा नेटवर्क कम आएको बताउँदै फर्काउने गरेको छ । स्थानीय राम अधिकारीले रकम झिक्न नपाउँदा समस्या परेको बताए ।

सरकारी स्वामित्वमा सञ्चालित राष्ट्रिय बाणिज्य बैंक बिहान १० देखि १२ बजेसम्म खुल्ने गरेको छ । त्यहाँ साबुन पानी र सेनिटाजर लगाएर समाजिक दूरी कायम गरी प्रवेश गर्न दिइएको छ । ग्रामीण क्षेत्रका बैंक बन्द रहेको गुनासो पाइएको छ ।