संसद विकास कोष खारेज गरिहालौं

२९ चैत्र २०७६, शनिबार १३:५४

काठमाडौं , सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले संसद विकास कोष राख्‍न आवश्यक नभएको बताउनु भएको छ । सामाजिक सञ्‍जालमा आफ्ना धारणा सार्वजनिक गर्दै नेकपाका प्रवक्ता तथा राष्ट्रिय सभाका सदस्य समेत रहनु भएका श्रेष्ठले आफूलाई संसद विकास कोषको विपक्षमा उभ्याउनु भएको हो ।

उहाँले कोभिड १९ को जोखिमसँग जुध्‍नका लागि तत्कालै संसद विकास कोषको रकम रोक्न पनि सरकारसँग अपिल गर्नु भएको छ । नेता श्रेष्ठले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरुले उठाउँदै आएको सहमतिको सरकारको प्रसंगलाई बेतुकको संज्ञा दिनु भएको छ । उहाँले सरकारको सारा शक्ति कोभिड(१९ विरुद्ध लागेको बेला मध्यावधि चुनाव र राष्ट्रिय सहमतिको सरकार बेतुकका लज्जास्पद कुरा भन्नु भएको छ । नेता श्रेष्ठले अहिलेको जटिल अवस्थामा सबै राजनीतिक शक्तिबीच बलियो सहकार्यको आवश्यकता भएको औंल्याउनु भएको छ ।