शान्ति समाजको आयोजनामा रक्तदान

२२ चैत्र २०७६, शनिबार १७:२८

मानव अधिकार तथा शान्ति समाजले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।कागेश्वरी मनोहरा नगरपालिका वडा नं ८ को सहयोगमा सोही वडाको गोठाटार वाग्मती किनारस्थित गाईबाच्छा संरक्षणस्थलको चौरमा आयोजित कार्यक्रममा ४५ जना दाताले रक्तदान गरेको समाजका सभापति उत्तम पुडासैनीले राससलाई जानकारी दिनु भयो ।

आज जम्मा भएको ४५ पिन्ट रगत रक्त सञ्चार केन्द्र भक्तपुरले आकस्मिक रुपमा अस्पताल भर्ना भएका बिरामीलाई दिने जनाइएको छ ।

लकडाउनका कारण मानिस जम्मा हुन सक्ने अवस्था नहुँदा अस्पतालमा आकस्मिक सेवाका बिरामीलाई रगत अभाव भएको छ ।

नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार केन्द्रले पायक पर्ने स्थानमा गई रक्तदान गर्न सम्पूर्ण दातामा आह्वान गरेको छ ।