प्रहरीको मनपरीः भिडियो खिचेको भन्दै लाठी प्रहार

२२ चैत्र २०७६, शनिबार १४:१६

पथरी (मोरङ) घरमा बसेर इन्टरनेट चलाइ रहेका एक किशोरलाई भिडियो खिचेको भन्दै प्रहरीले लाठी प्रहार गरेको समाचार प्राप्त भएको छ। प्रहरीको लाठी प्रहारबाट पथरी शनिश्‍चरे नगरपालिका ५ का रोहन साह घाइते भएका छन्। प्रहरीले शुक्रबार हसन्दहका साहलाई घरबाटै घिसारेर लाठी बर्साएको बताइएको छ ।

पीडितका बाबु वीरेन्द्र साहका अनुसार शुक्रबार हसन्दहमा लाग्‍ने हटियामा लकडाउन उल्ल्रघन गर्नेलाई हटाउन पुगेको कुशेचौरी प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक हरिलाल राजवंशीको टोलीले लाठी बर्साएको हो । साहलाई घरमाथिबाट झारेर पाइपको लाठी बर्साउँदै ५ सय पटक उठबस गर्न लगाएको पीडितका बाबु वीरेन्द्र साहले बताए। करिब १ सय पटक उठबस गरेपछि फेरि लाठीले उनीमाथि हानेका थिए। रोहन हाल पथरीको मोरङ हस्पिटल प्रालिमा उपचाररत छन्। उनको अवस्था हाल सामान्य रहेको बताइएको छ ।