नेपालमा छैटौं कोरोना भाइरस संक्रमित फेला

२० चैत्र २०७६, बिहीबार १७:००

काठमाडौं । नेपालमा छैटौं कोरोना भाइरस संक्रमित बिरामी फेला परेका छन् । कतारको राजधानी दोहाबाट नेपाल आएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बिहीबार गरिएको परीक्षणमा कतारबाट आएका थप एक जनामा कोरोना पोजेटिभ भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । 

उनले यसबारे थप विवरण आउन बाँकी रहेको र आएपछि विस्तृतमा जानकारी गराइने बताए ।  

पत्रकार सम्मेलनमा देवकोटाले  हालसम्म ११८४ वटा नमुना परीक्षण भएको र त्यसमा आजको समेत गरी ६ जनामा पोजेटिभ भेटिएको जानकारी दिए । 

अहिले केन्द्रीय प्रयोगशालामा थप ४३ वटा  परीक्षण भइरहेको तथा धरानमा पनि १२ वटा नमुना परीक्षण भइरहेको देवकोटाले बताए । 

यस्तै हाल १०५ जना आइसोलेसनमा रहेका छन् भने जसमध्ये १६ जना उपत्यकाका विभिन्न अस्पतालमा रहेका छन् ।