चाबहिल–साँखु सडक खण्ड अटेर गरेपछि घरमा डोजर

६ चैत्र २०७६, बिहीबार ०८:५९

काठमाडौं, तीन वर्षअघि नै घरको मुआब्जा लिई पटक पटकको सूचना र ताकेतापछि पनि अटेर गर्ने काठमाडौँको चाबहिल–साँखु सडक खण्डमा पर्ने स्थानीयवासीको घरमा डोजर चलाइएको छ ।

आर्थिक वर्ष २०७३र७४ र २०७४र७५ मा दुईपटक गरी मुआब्जा लिई अहिलेसम्म घर नभत्काएका घरधनीको घरमा डोजर चलाइएको हो ।

स्थानीयवासीले सडक क्षेत्रमा परेका घर नभत्काउँदा सडक निर्माण नै अवरोध भएपछि काठमाडौँ उपत्यका विकास प्राधिकरण, काठमाडौँ उपत्यका सडक विस्तार आयोजना र सडक विभागको संयुक्त पहलमा बुधबार चाबहिल–साँखु सडक खण्डमा पर्ने मूलपानी, थली र डाँछीका सडक क्षेत्रमा पर्ने घरमा डोजर चलाइएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाका प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिए ।

उनका अनुसार सो सडक खण्डमा पर्ने मूलपानी र डाँछीमा एउटारएउटा तथा थलीमा पाँचवटा घरमा डोजर चलाइएको हो । ‘दुई वर्षअघि नै मुआब्जा लिइसकेको तथा घर भत्काउन पटकपटक सूचना र ताकेता गर्दा पनि नभत्काएपछि सडक क्षेत्रमा परेका घरहरूमा डोजर चलाई साङ्केतिक रूपमा भत्काइएको छ, अब उहाँहरूले आफैँ भत्काउनुपर्छ,ु उनले भने, ‘अब पनि उहाँहरूले घर भत्काउनुभएन भने हामीले पूर्णरूपमा घर भत्काउने छौँ ।’

मुआब्जा लिएकाहरूको मात्र घरमा डोजर लगाइएको उनले स्पष्ट पारे । काठमाडौँ उपत्यका विकास प्राधिकरणका कर्मचारीले घर भत्काउनका लागि घरघरमा गएर सूचना दिए पनि सम्बन्धित घरधनीले घर नभत्काएपछि काठमाडौँ उपत्यका विकास प्राधिकरण, काठमाडौँ उपत्यका सडक विस्तार आयोजना र सडक विभागको संयुक्त पहलमा घरमा डोजर चलाइएको उनले स्पष्ट पारे ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणले सडक क्षेत्रका घरहरू भत्काई विस्तार गर्नुपर्ने सडक ‘एलाइन्मेन्ट’ पूर्णरूपमा खाली गराइसकेपछि सो क्षेत्रमा विस्तार तथा कालोपत्रेको काम सुरु गरिने उनले स्पष्ट पारे ।(आजको गोरखापत्र दैनिकबाट)